लघुकथाः
अरुण कुमार भुजेल, दार्जिलिङ ।
“टल्कने सबै सून हुँदैन
कहिले काँहि घरमा नून हुँदैन
चोटै–चोट हुने अचानोको पीर
काट्ने खुकुरीलाई थाहै हुँदैन ।”
अरू के थपौं ? सोच्दा–सोच्दै किडिङ–किडिङ मोबाइल बज्छ । उठाएर हेर्छ क्रोध झल्काउने एउटा फोटो र हैट ! “लेखिएको पोस्ट देख्छ । यसको के अर्थ हुन्छ ? उसले केहि पनि बुझ्दैन तर उसलाई भर्खरै लेखिसकेको उसकै चार लाइन लाई भने झैं लाग्छ । उ मोबाइल र सम्झने–लेख्ने दुवै कुरा बन्द गर्छ र औंला पडकाउँछ । उसलाई त्यो फोटो कता–कता देखे–देखे झैं लाग्छ । केही क्षण पछि मोबाइल अन गरेर हेर्छ । भर्खरै पोस्ट भएको ‘फोटो हैट ! ‘को तलतिर बिटिटिङ्ग कमेन्टहरू देखापर्न थाल्छ । ‘के भो ? ‘कसले के गर्यो ? ‘हाम्रो साथीलाई रिस उठाउने को हो ?’ यस्तै बाह्र सताइसका कुरा । छिछिमिरा जस्तै–कमेन्ट । मानौ, अब सबै मिलेर बिद्रोह गर्न तयार हुँदैछन् ।
अब उसलाई, २४ दिन अघिको एउटा अर्को पोस्ट आँखा अघि झलझली आउँछ । गुटबन्दी अनि प्रोपोगाण्डाले सृजनाहरुलाई फाइदा हुँदैन् । त्यो पोस्टमा यहि कुरा लेखिएको थियो । साँच्चै यो कथन ठीक हो । हिजो–आज यस्तै छिछिमिरे कमेन्टको पछि दौडिरहेका छन्, सबका–सब । उसको चित्त बुझेको थियो त्यस पोस्टमा लेखिएको शब्दहरुले । बरिष्ठको उक्त भनाईमा सहमति स्वरूप–‘सय प्रतिशत सत्य’ भनि लेखेर पनि पठाएथ्यो । छिन–छिनमै फेरिन्दै देखा पर्ने फेसबुके अनुहार र त्यसमा आउने बिचित्र–कमेन्ट लेख्नेहरुदेखि अन्य प्रायः जसो क्षेत्रमा देखिएको विसंगतिलाई दह्रो झापट कसेको छ, यसले । यसरी प्रशन्नता र सहमति जाहेर गर्दै निक्कै खुसी भएथ्यो–ऊ ।
हुनपनि एकै क्षणमा प्वाँख झरेर मर्ने छिछिमिरे झैं कमेन्ट त प्रोपोगाण्डा न हो ! त्यसको के औचित्य र फाइदा ? फेरि पनि यस्ता समूहहरू (खेमा, लवी, गुटबन्दी, झुण्ड) ‘गाउँदेखि शहर, सडकदेखि सदन अनि कारदेखि बेकार हरेक क्षेत्रमा दहरिलो पकड बनाएर घुम्दैछ ।’ यसको चपेटामा अचेल रचनाकार, संगीतकार, गीतकार, नृत्यकार, पत्रकार, सरकार अनि बेकार (जागिर रहित) सबै फँसेका छन् । कोहि त अछूत छैन् । रंगमञ्च र सिनेमा जगतको त झन के कुरा ? अहिले पनि त सुशान्त सेलाएकै छैन् । आञ्जे सुकै होस् होस् है ! आफू न त कारहरुको सदस्य न त छिछिमिरे खेमाको कर्मठ कार्यकर्ता । न घरको न घाटकोलाई लुतो न कनाई । त्यहि पनि त्यो चार लाइनमा के छ र ? उहिलेका बुढाको आउट डेटेड खुइलेका कुरा न हो । आखिर मैले जानेको त्यही पुरानै कुराहरू न हो ।
अहिलेको डिजीटल युगमा हाम्रो के काम त ? आफैलाई यसरी सम्झाउँदै ढुक्क भएथ्यो–उ । बरिष्ठको थोरै शब्दले धेरै अर्थहरू बोकेको हुन्छ त्यसै कसरी त्यो ओहोदामा पुगिन्छ र ? आफैलाई प्रश्न गर्दै पुनः आज र अस्तिको पोस्ट नियाल्दै जान्छ–उ । अब उसलाई चक्कर लागे झैं हुन्छ । ती दुवै पोस्ट र फोटो उसलाई नै गिज्याउँदैछ जस्तो भान हुन्छ किनकी दुवै पोस्ट र फोटो एउटै व्यक्तिबाट प्रेसित गरिएको हुन्छ । अस्तु ।
प्रतिक्रिया