कृष्ण पौडेल ।
‘रुन्ची अब जम्मा १६२६ दिन बाँकी है ।’ मैले बेलुका सुत्ने बेलामा म्यासेज गरें ।
के को दिन गनेका हौ र पग्लु । साँच्चै खुस्कियौं क्या हो ? उता बाट रिप्लाइ आयो ।
अनि तिम्ले नै हैन त पाँच बर्ष कुर भनेको । आज दुई सय दिन सकियो नि ! मैले लभ वाला स्माइलीसहित म्यासेज फर्काएँ ।
‘हिहिही पागल’ । उताबाट हाँसोको स्माइलीसहित म्यासेज आयो ।
फेसबुकमा हाम्रो कुराकानी हुन थालेको ६ महिना भन्दा पनि धेरै भैसकेको थियो । कहिले च्याटमा, कहिले म्यासेजमा मध्यरातसम्म हाम्रो गफ चलिरहन्थ्यो । कहिले कसो गफ गर्न नपाउँदा बेग्लै छट्पटी हुन्थ्यो ।
माया भन्ने चिज कति छिटो गहिरो हुन्छ है । अनि कति फराकिलो पनि । बाणगंगामा बाढी आउँदा बगर छोपिएजस्तै उर्लिएर आउने यादहरु । रुन्ची असाध्यै मायालु थिई । अनि असाध्यै मेरो ख्याल पनि राख्थि ।
मेरी साथीले एकदिन उनको फोटो पठाएर लप पार्ने हो भनेर सोधेको दिन मलाई औधी रिस उठेको थियो । प्रेममा धोका पाएर घायल प्रेमी बनेको अवस्थाले ठुलै घाउ बनाएको थियो सायद । जो केटी पनि धोकेवाज नै हुन्छन जस्तो लाग्थ्यो । प्रेममा बिश्वास नै लाग्दैनथ्यो । अझ बेलाबेलामा त्यै धोकेवाजको प्रोफाइल खोलेर उनको श्रीमान अनि छोरा सहितको प्रोफाइल तस्बिर हेर्दा भाउन्न हुन्थ्यो । बिश्वास उडिसकेको थियो प्रेमसंग । अझ भनौ झगडा परिसकेको थियो माया पिरतीसंग । म हारेको थिएँ प्रेमसंग । पाहा पछारेको झै पछारेको थियो मलाई पिरतीले ।
ओखती बनेर आएकी थिइ रुन्ची । वैद्यको ओखती भन्दा पनि कडा । एलोप्याथी मेडिसिन भन्दा पनि भरपर्दो ।
‘सबै केटी उस्तै कहाँ हुन्छन र एकचोटी एड गरेर कुरा गर न !’ साथीले म्यासेज गरेपछि केही सोच्नै सकेको थिएन । मन झन दोधारे भएको थियो । फेरि उहीँ प्रेमको भड्खालोमा हामफाल्ने साहस गर्नै सकेको थिएन । तै पनि मनले साथी खोज्दो रहेछ । एकोहोरिएको मन सम्हाल्ने कोही न कोहि नभै नहुने । त्यो ताका मन पनि दुश्मन बनेको झैं फिल भैरहन्थ्यो । अब कोही केटिीसंग भुलेर पनि सम्बन्ध राख्दिन भनेर दिमागले सोचे पनि आफ्नै मन भिलेन भैदिन्थ्यो । साँच्ची मनलाई एउटा असल साथीको खाँचो थियो । सम्हालिदिने, मन दुख्दा सुम्सुम्याइदिने ।
साथीले रुन्चीको प्रोफाइल डिटेल भएको स्क्रीनसट पठाएर ठुलै गुन लगाइदिएकी थिइ । मरणासन्न भएर छटपटिरहेको घाइतेलाई अस्पताल पुर्याइ दिएको जस्तै गुन । वार पार बाढी हुँदा डुङ्गा तारिदिए जस्तै गुन । एड हुनु मात्रै थियो । कुराकानी, गफगाफ गर्दागर्दै रुन्चीसंग कतिबेला माया बस्यो पत्तै भएन । बिगतलाई भुलेर, दुखेको मनलाई सन्चो बनाएर कति बेला मनको डाक्टर बनिन पत्तै पाएन ।
‘पग्लु मलाई घुमाउन लैजान्नौ ?’ एक्दिन फोनमा गफ हुँदै गर्दा उनले कुरा निकालिन् । मैले नकार्ने कुरै भएन । शनिवार जगदीशपुर ताल घुम्न जाने योजना उतिबेला नै बन्यो । कहिले शनिबार आउँला अनि रुन्चीको हात समाएर ताल घुमौँला । छटपटी, औडाह एकैचोटी भयो । भर्खर किनेको एक जोर नयाँ कपडा दुई चोटि साबुन लगाएर धोएँ । अखिलेश भैयाकोमा गएर जुँगाको मर्मत गरेपछि त झन कति बेला रुन्चीलाई भेटौ भेटौं भयो । मन पो छटपटाउँछ । आत्तिन्छ, हतार हुन्छ । समय किन चांडो जाओस । जेनतेन शनिवार आइपुग्यो । बिहानैबाट छुट्टै रौनक छाएको थियो मनमा । उत्सुक थिएँ पियारीको हात समाएर घुम्न । नुहाइधुवाइ गरेको शरीरमा काकाले बिदेशबाट पठाइदिएको पर्फ्युम छर्केर । नयाँ कपडा लगाएपछि त हिरो भैहालें । अझ हिजै सुशीलसंग मागेर ल्याएको शाहीद कपुरवाला चस्मा लगाए पछि त सान नै छुट्टै भएको महसुस गरें ।
मलाई मात्रै हतार भएको हो कि उनलाई पनि । एक दुई बजे भेट्ने योजना भएपनि म एघार बजे नै भिक्षु चोक पुगेँ ।
म त आइपुगेँ । तिमी कति बेला आइपुग्ने हो । मैले सिँचाइको गेटमा नै उभिएर फोन गरेँ ।
एकछिन बस्दै गर न । दाइ घरै मा छ के।दाइ निस्कन्छ अनि निस्कन्छु । नत्र मार्छ फेरि । उनले यति भन्ने बित्तिकै फोनी काटिन । भावी जेठान सम्झिएर बेस्सरी रिस उठ्यो । मेरि रुन्चीलाई अहिले नै भगाएर ल्याउन पर्छ क्या हो । मलाई ह्वात्तै साउथ फिलिमको हिरो जस्तै फिल आयो । हिरोइनको दाइ भिलेन अनि हिरोले फाइट हानी हानी हिरोनी भगाएको सिन झलझली दिमागमा नाच्न थाल्यो ।
जानू कहाँ छ र । उनी आउँन ढिला हुने भएपछि असाध्य अत्यास लाग्यो । न घर फर्किएर जानू, न कुरेर बस्नु । उसै त समय भन्दा चाँडै पुगेको त्यही माथी भिलेन दाईले गर्दा उनी ढिला आउने पक्का भएको । बकुल्लाको मुखमा माछा छटपटाएको झै छटपटाउनुको बिकल्प नै भएन । सुदेश भाइको ठेलामा दुई पात चाट अनि बीस पच्चिस ओटा फुल्का बुत्याइसक्दा पनि उनी आउने छाँटकांट देखिएन । न फेरि फोन गर्दा फोन लाग्यो । दशक नै बिताएजस्तो त्यो दिन भिक्षु चोकको घाम ताप्दैमा बित्यो । अहँ बेलुकाको पाँच बज्दासम्म पनि उनी नआएपछि बल्ल सम्झिएँ । ओहो ! उनी आएपछि खाजा खाउँला भन्दा भन्दै त्यसै भएछ ।
चार नम्बर जाने बाटोको देब्रे तिर गणेश दाई अन्डाको पकौडा बेच्ने ठेला लिएर रेडि भैसकेका थिए । सुस्केरा काढ्दै त्यही नजिकको बेन्चमा बसें । अब यसो पेट भरेर घरतिर जानुपर्ला । गलफ्रेनको दोष पेटलाई त किन दिनू । सोच्दा सोच्दै मैले मगाएको पकौडा हालेर गणेश दाई कि श्रीमती अगाडि आइपुगिन । खानु मात्र थियो । उनको यादमा आफ्नै मन मनमा कुरा गर्दा गर्दै कति बेला बाटो तताएछु पत्तै पाइन । अचानक अगाडिबाट भटट गर्दै बाइक दौडियो । अगाडिको पुरुषलाई च्याप्प अंगालो हालेर समातेकी । पछाडी बसेकी केटीलाई कता कता देख्या जस्तो लाग्यो । मुख जम्मै सलले बेरेको भएपनी त्यो आँखा कता कता परिचित लाग्यो । सम्झिन खोजेँ सम्झिनै सकिन । आ…! जो सुकै होस । मलाई बाल भो र ! सोच्दै आफ्नो बाटो तताइरहेँ ।
आँखा त रुन्चीको जस्तो पो थियो त । अझ त्यो टिशर्ट त मैले नै गिफ्ट दिएको पो हो । म झसङ्ग भएँ । जिन्दगीले फेरि पछार्यो । म फुटपाथेसंग किन घुम्न जान्थी । एकचोटी फेरि फोन गरेँ ।
हेर न आज दाई घरबाट निस्किदै निस्किएन । पछाडी कोही बोले जस्तो आवाज आइरहेको थियो बाइकको भटट आवाज अझै सुनिएकै थियो । को हो फुच्चु ? “मेरो साथि हो के । मेरो कानमा यिनै शब्द गुन्जिरह्यो । बस उहीँ शब्द ! मेरो साथी हो के…..!
प्रतिक्रिया