कमल भट्टराई ।
हामीले नयाँ खाले पुँजीवादी क्रान्ति सम्पन्न गरेका छौं । यो भन्नुको अर्थ हो जनताको बहुदलीय जनवाद र एक्काईसौं सताब्दीको जनवादले परिकल्पना गरेको सामन्तवाद विरोधी क्रान्ति सम्पन्न भएको छ । नेपालको पुँजीवादी क्रान्ति राष्ट्रिय उद्योगधन्दाको विकासबाट होईन कि साम्राज्यवादी पुँजीको हस्तक्षेप र अनुत्पादक पुँजीको प्रभुत्व वा हैकम कायम रहेको अवस्थामा सम्पन्न भएको छ । त्यसैले अहिले हाम्रो पुँजीवादको आधारभूत चरित्र दलाल रहेको छ । यहाँ राष्ट्रिय पुँजीको विकास कमजोर छ ।
सामन्तवादको अन्त्यसंगै नेपाली क्रान्तिको कार्यभार पनि फेरिएको छ । नेपाली श्रमिकहरु र आम जनताको प्रगतिको बाधक शक्ति नै हाम्रो समाजको प्रधान अन्तरविरोध हाम्रो प्रहारको निशाना हो । पुँजीवादी व्यवस्थामा दलाल वा विचौलियाको अस्तित्व हुन्छ । मुल कुरा अर्थतन्त्रमा कस्को नियन्त्रण छ भन्ने नै हो । यदि उत्पादनशीलले नै अर्थतन्त्रको मुलपक्ष ओगटेको छ भने त्यहाँ दलाल पुँजीको हस्तक्षेप कमजोर हुन्छ । अहिले नेपाल अनुत्पादक, बिचौलिया वा दलाल पूँजीको हस्तक्षेपको मार भोगिरहेको छ । यसका विरुद्धको संघर्ष भनेको उत्पादनशील पुँजीको विकास र विस्तार नै हो । हामी कम्युनिष्टहरुको कार्यनीति यसै दिशामा केन्द्रित हुनुपर्छ ।
अब पार्टीका तहमा उठ्नुपर्ने वैचारिक बहसको क्रममा पुरानै वैचारिक बहस उठ्ने सम्भावना पनि उत्तिकै छ । जनवादी क्रान्ति अर्थात् पूँजीवादी क्रान्ति सम्पन्न भयो पनि भन्ने अनि अर्थतन्त्र दलाल छ पनि भन्ने ? यो त परस्पर अन्तरविरोध कुरा भयो, क्रान्ति सम्पन्न भएको भए त दलाल पुँजिवाद पनि सम्पन्न भएको हुनुपर्ने, कि त क्रान्ति बाँकी छ कित दलाल पुँजिवाद समाप्त भएको छ, नत्र दलाल पुँजीवाद बाँकी छ जनवादी क्रान्ति पनि बाँकी छ भन्ने जस्ता तर्कहरु पनि प्रशस्त सुन्न देख्न पढ्न पाइन्छ । किनकी पुँजीवादको मुल चरित्र नै दलाल भएकोले यसको सार पक्ष पुँजी र रुप पक्ष दलाल हुने गर्दछ ।
नेपाली समाज पुँजीवादी भयो भन्ने निष्कर्ष प्रस्तुत गरिरहँदा कतिपय मानिसहरुले तर्क पनि गरेका छन् कि खै त मानिसहरूले रोजगारी पाएको ? सामाजिक दमन र विभेद खोई त अन्त्य भएको ? यस्ता सोचाइ राख्ने मानिसहरु पुँजिवाद भनेको मानिस सुखी हुने, बेरोजगारी नहुने र विभेदहरूको अन्त्य हुने व्यवस्था हो भन्ने भ्रममा छन् । सामन्तवादको तुलनामा पूँजीवादले नै मानिसलाई बेरोजगार र बेघरबार बनाएको हुन्छ बुझ्न नसक्नु कम्युनिष्टहरुका लागि वैचारिक विचलन हो । स्पष्टरुपमा भन्नुपर्दा शोषणका विविधरुपहरु सामन्ती व्यवस्थाबाट पुँजीवादी व्यवस्थामा संक्रमण भएको हो भन्ने कुरा बुझ्नु आवश्यक छ ।
कुनैपनि क्रान्ति सुरुमा राजनीतिक तह अर्थात् समाजको माथिल्लो ढाँचामा सम्पन्न हुन्छ । क्रान्ति सम्पन्न भइसकेपछि पहिले तयार भइसकेको उत्पादक शक्ति अर्थात समाजको आर्थिक जगलाई अझ बलियो बनाउने आर्थिक रुपान्तरणको काम सुरु हुन्छ । समाजको आर्थिक जगमा पुँजीवादी उत्पादक शक्ति विकसित भइसकेपछि नै माथिल्लो ढाँचाको रुपमा रहेको राज्य सत्तालाई ढाल्ने र राज्यसत्ता मार्फत क्रान्तिकारी कार्यक्रममार्फत उत्पादन सम्बन्धमा परिवर्तन गर्ने बाँकी काममा केन्द्रित रहनु पर्ने हुन्छ । त्यही बाँकी कामलाई क्रान्तिका बाँकी कार्यभार भन्ने गरिन्छ । हामीले बिर्सन नहुने कुरा के छ भने क्रान्ति सम्पन्न गर्ने काम जति कष्टपूर्ण थियो त्यति नै कष्टपूर्ण र जटिल बाँकी कार्यभार पूरा गर्न हुनेछ ।
सन् १९१७ मा रुसमा समाजवादी क्रान्ति सम्पन्न हुँदा भू–दास प्रथा कायमै थियो त्यसलाई पछि कानून बनाएर हटाइएको थियो । सन् १९४९ मा चीनमा नयाँ जनवादी क्रान्ति सम्पन्न हुँदा गाउँमा जमिन्दार प्रथा कायम थियो अझ तिब्बतमा झन दासप्रथा नै थियो त्यहाँ आर्थिक रुपान्तरणको प्रक्रियालाई अपेक्षाकृत रुपमा सजिलो र छिटो गरी अगाडि बढाउने काम भयो । हाम्रो श्रमवर्ग र बुर्जुवा वर्गको संयुक्त नेतृत्वमा ६२/६३ को जनक्रान्ति सम्पन्न गरी समाजवादको आधार तयार गर्ने उद्देश्य थियो । संविधानसभा मार्फत संविधान समेत निर्माण गरिसकेको हुँदा आर्थिक रुपान्तरणका बाँकी कार्यभार पूरा गर्न समाजवाद उन्मुख अर्थतन्त्रको निर्माणको विकल्प छैन ।
पुराना अर्थव्यवस्थाका आर्थिक–सामाजिक–सांस्कृतिक अवशेषहरु समाप्त गर्दै राष्ट्रिय अर्थतन्त्रको विकास गर्नु पर्ने छ पुराना अवशेष समाप्त गर्ने काम एकाङ्की प्रक्रिया होइन बहुआयमिक प्रक्रिया हो । विद्यमान दलाल पुँजीवादलाई कमजोर बनाउँदै लैजाने र राष्ट्रिय पूँजीलाई बलियो बनाउने क्रममा नै पुरानो सामन्ती व्यवस्थाले छाडेका आर्थिक–सामाजिक अवशेषहरू निर्मुल पार्दै जानुपर्ने कार्यभार नै समाजवाद स्थापनाका लागि उपयुक्त रणनीति र कार्यनीतिको दिशामा अबको नेकपा केन्द्रित हुनुपर्ने छ ।
(लेखक भट्टराई नेकपा कपिलवस्तुका युवा नेता हुनुहुन्छ)
प्रतिक्रिया