८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

प्रभावकारी बन्दै वाणगंगा नगरले चलाएको रेडियो पाठशाला



मायादेवी अनलाइन, चार नम्बर ।
नोवेल कोरोना भाइरस (कोभिड-१९) को महामारीले विद्यार्थीको शिक्षण सिकाई पूर्ण रुपमा बन्द भएपनि वाणगंगा नगरपालिकाले रेडियोबाट बैकल्पिक सिकाई स्वरुप रेडियो कक्षा सञ्चालन गरिरहेको छ ।

चैत्र ११ देखिको लकडाउनले विद्यार्थीको पढाईमा असर गरेपनि सबै नागरिकको पहुँचमा रहेको सञ्चारको लोकप्रिय माध्यम रेडियोबाट पाठशाला सञ्चालन गरेको हो । सरकारले अहिलेको विषम परिस्थितिमा बैकल्पिक शिक्षण सिकाईमा जोड दिएपनि अधिकांश स्थानीय तहले कार्यान्वयन नगरेको अवस्थामा वाणगंगा नगरपालिकाले कार्यान्वयन गरेको छ ।

नगरभित्रका चार वटा रेडियोबाट दैनिक साढे दुई घण्टाका दरले रेडियो पाठशाला सञ्चालन भैरहेको छ । कक्षा ४ देखि कक्षा १० सम्मको शिक्षण सिकाई रेडियोबाट सञ्चालन भैरहेको नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद विकास शाखाका प्रमुख बाबुराम भट्टराईले जानकारी दिनुभयो । हरेक कक्षाका ५ विषय रेडियोबाट सञ्चालन भैरहेको पनि उहाँले बताउनुभयो । ‘नगरका चार वटा रेडियोबाट साढे दुई दुई घण्टाका दरले रेडियो पाठशाला सञ्चालन गरिरहेका छौं, उहाँले भन्नुभयो, अहिलेको यो विषम परिस्थितिमा शिक्षण सिकाइको उत्कृष्ट अभ्यास हो भन्ने ठानेका छौं ।’

वाणगंगाले असार १५ देखि नै रेडियोबाट शिक्षण सिकाई सञ्चालन गरेको हो । प्रदेश ५ का नगन्य स्थानीय तहले गरेको यो अभ्यास कपिलवस्तुमा वाणगंगाले गरेको पहिलो हो भने रुपन्देहीमा सैनामैना नगरपालिकाले बाहेक अरु स्थानीय तहले सञ्चालन गरेका छैनन् ।

रेडियोबाट सञ्चालन भैरहेका कक्षालाई विद्यार्थी सामु लैजाने र यसलाई अझै प्रभावकारी बनाउन शिक्षकलाई टोल टोलमा परिचालन गरिएको शिक्षा शाखाका अधिकृत खिमबहादुर जिसीले बताउनुभयो । अभिभावकलाई पनि रेडियोबाट प्रशारण हुने कक्षा छोराछोरीलाई सुन्न भनिएको अधिकृत जिसीले बताउनुभयो ।

‘लामो समयको लकडाउनले शिक्षण सिकाइमा नराम्रोसंग प्रभाव पार्‍यो, यस्तो बेला रेडियोबाट शिक्षण गराउनु बाहेक अर्को विकल्प हामीसंग थिएन, उहाँले भन्नुभयो, रेडियो कक्षा नै महत्वपूर्ण हुदो हरेछ भन्ने लागेको छ ।’

नगरपालिकाका चार वटा रेडियोले न्यून बजेटमा रेडियो पाठशाला सञ्चालन गरिरहेका छन् । विहान ११ बजे देखि दिउँसो साढे २ बजेसम्मको महत्वपूर्ण समयमा रेडियोले नगरबाट उत्पादित पाठशाला बजाइरहेका छन् ।

नगरपालिकाले सिंगो रेडियोको महत्व र प्रभावकारीता बुजेर पाठशाला सञ्चालन गर्नु राम्रो अभ्यास भएको रेडियो मायादेवीका स्टेशन म्यानेजर तथा सामुदायिक प्रशारक संघ कपिलवस्तुका संयोजक चन्द्रकान्त न्यौपानले बताउनुभयो । लोकप्रिय सञ्चारको माध्यम रेडियो भएको र यसको पहुँच ‘हुँदा खानेदेखि हुने खाने वर्ग’सम्म भएकाले रेडियो पाठशालाबाट कोही बञ्चित हुन नसक्ने न्यौपानेले बताउनुभयो ।

रेडियोबाट प्रशारित कार्यक्रमको प्रभावकारीताको अनूभुति अभिभावकलाई पनि पर्न थालेको छ । वाणगंगा-४ झुँगाका रामप्रसाद न्यौपानले सबैको पहुँचमा पुगेको रेडियोबाट कक्षा सुन्न पाउँदा आफ्ना छोराछोरी खुसी हुने गरेको बताउनुभयो । लामो समयको लकडाउनले विद्यालय जान नसकेका छोराछोरीलाई रेडियोबाट सञ्चालन भैरहेका कक्षा सुन्न आतुर हुने गरेको उहाँले सुनाउनुभयो । शिक्षकले पढाउने शैलीपनि अत्यन्तै राम्रो रहेको उहाँको भनाई छ ।

रेडियो कक्षा नगरका विषय शिक्षकबाट सञ्चालन भैरहेको छ । नगरपालिकाले नगरभित्रका विषय शिक्षकलाई छनौट गरी यसको जिम्मेवारी दिएको छ । चार वटै रेडियोबाट फरक फरक शिक्षकलाई कक्षा सञ्चालनको जिम्मेवारी दिइएको हो ।

यता सरकारले भदौ १५ यता विद्यालय नखुल्ने जनाएपछि नगरपालिकाले भदौ १५ गते सम्मनै रेडियो पाठशालालाई निरन्तरता दिने तयारी गरेको छ । शिक्षा शाखाका प्रमुख बाबुराम भट्टराईले रेडियोबाट सञ्चालन भैरहेको बैकल्पिक शिक्षालाई भदौ १५ सम्म लगिने बताउनुभयो ।

प्रकाशित मिति : २८ श्रावण २०७७ बुधबार ००:००  ६ : ३० बजे