मायादेवी अनलाइन, चार नम्बर ।
कोरोनाको जोखिम नियन्त्रणका लागि भन्दै कपिलवस्तुमा शुक्रबार विहानदेखि गरिएको आंशिक लकडाउनको प्रभाव कपिलवस्तुमा परेको छ ।
जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले विहीबार सूचना जारी गर्दै जिल्लामा अत्यावश्कीय सेवा बाहेकका सरकारी कार्यालय, बैंक तथा वित्तिय संस्था र सार्वजनिक सवारी साधन पूर्णतया बन्द गर्ने जनाएकोमा सवारी साधन पनि नचल्दा बजार सुनसान देखिएको हो ।
हिजो अस्तीको तुलनामा आवतजावत बढी हुने भए पनि शुक्रबार विहान भने जिल्लाको बाणगंगा नगरमा त्यसको प्रभाव परेको छ । बाणगंगाका ओदारी, गजेहडा, चार नम्बर, बनगाई, बोडगाउँ, वैरिया, पिपरा लगायतका स्थानमा सर्वसाधारणको चहल पहल घटेको देखिन्छ ।
बाक्लो संख्यामा सवारी साधन चलेकोमा अहिले घटेर सवारी चलेका देखिन्छन् । यसो हुनुमा जोर विजोर प्रणालीमा गरिएको कडाइ पनि हुन सक्ने बताइएको छ । बजार, पसल खुले पनि हिजो अस्तीजस्तो भीँड छैन । मोटर साइकल र स्कुटरको सवारी पनि कम भएको छ ।
शुक्रबार (आज) विहान रेडियो मायादेवीसंग कुराकानी गर्दै प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले निर्णयभन्दा माथि रहेर काम गर्नेलाई संक्रामक रोग ऐन अनुसार कारबाही गर्ने जनाए पनि पनि यसको प्रभाव परेको देखिन्छ ।
उहाँले नेपाल सरकारले पसल, व्यवासायी सञ्चालन गर्दा अपनाउने नियम भने अनिवार्य कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । पसल सञ्चालन गर्दा भीँडभाड हुन नदिने, अनिवार्य सेनेटाइजरको प्रयोग गर्ने र माक्स प्रयोग गर्नुपर्ने अन्यथा कारबाही हुने उहाँले बताउनुभएको छ ।
आजबाट जिल्लामा सरकारी कार्यालय तर्फ मालपोत, प्रशासन, राजश्व, विद्युत लगायतका कार्यालयका सेवा बन्द गरिएको छ भने पूर्व पश्चिम राजमार्गबाहेक कपिलवस्तुमा चल्ने सार्वजनिक सवारी साधन पनि बन्द गरिएको छ ।
प्रशासनको निर्णयको प्रभाव कृष्णनगर, तौलिहवा, महाराजगंज, चन्द्रौटा, गोरुसिंगे, पचेहरा लगायतका स्थानमा पनि परेको हाम्रा संबाददाताले बताउनु भयो । यस्तै मास्क प्रयोग गरेर हिाँड्नेको संख्या पनि बढेको छ ।
हिजो अस्तीको तुलनामा आज बजारमा चहलपहल घटेको छ । प्रशासनले निर्णय अटेरी गर्ने, बाहिर निस्कँदा मास्क प्रयोग नगर्नेमाथि जरिवानादेखि पक्राऊसम्मको निर्णय गर्न सुरक्षा निकायलाई निर्देशन दिएको छ ।
प्रतिक्रिया