८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

कपिलवस्तु सर्पदंश उपचार केन्द्रमा विरामीको संख्या घट्दो, अझै झारफुक मै विश्वास !



दीपा महत, बुद्धभूमि ।
कपिलवस्तु सर्पदंश उपचार केन्द्रमा विरामीको संख्या घटेको छ । जिल्लाको बुद्धभूमि नगरपालिका २ गोरुसिंगेमा रहेको केन्द्रमा विगतको तुलनामा उपचार गराउन आउने विरामीको संख्या करिव ३० प्रतिशतले घटेको हो ।

गर्मीयामसंगै वर्षाको समयमा सर्पदंशका विरामीहरु बढी आउने गर्छन तर, अहिले विगतको तुलनामा उपचार गराउन आउनेको संख्या केही कम रहेको केन्द्रले जनाएको छ ।

अहिले दैनिक ४ देखि ५ जनाको संख्यामा विरामी आउने गरेका छन् । त्यस मध्ये विषालु सर्पको डसाइबाट उपचार गर्न आउने बिरामीको संख्या यी संख्याको औसतमा एकजना मात्र रहने गरेका छन् । अन्य विरामी भने शंकाकै भरमा आउने गरेका छन् ।

विगतमा यही समयमा १० देअि १२ जना विरामी आउने गरेको केन्द्रमा तथ्याङ्क छ । त्यस मध्ये विषालु सर्पको टोकाइबाट ४/५ जना उपचारको लागि आउने गरेपनि अन्य शंकाको आधारमा आउने गरेको अस्पतालले जनाएको छ ।

यो आवको साउनसम्म ८० जना सर्पदंशका बिरामी उपचारका लागि आएका छन् । उनीहरुमध्ये ३ जनाको बाटोमै ज्यान गएको अस्पतालका ब्यवस्थापक नबिन भण्डारीले जानकारी दिनुभएको छ । विरामीहरुले अझैपनि झारफुकमा विश्वास गर्दा अनाहकमा ज्यान गुमाउनुपरेको भण्डारी बताउँनुहुन्छ । ढिलागरी अस्पताल आउँदा र धामीझाक्री तथा झारपूकमै ब्यस्त हुँदा साउन महिनामा मात्र ३ जनाको मृत्यु भएको उहाँले मायादेवी अनलाइनसंग भन्नुभयो ।

भर्खर सकिएको आव २०७६÷७७ मा ६ सय १४ जना सर्पदंशका विरामी उपचारका लागि आएका थिए । उनीहरुमध्ये एक जनाको मात्र मृत्यु भएको अस्पतालका ब्यवस्थापक भण्डारीले जानकारी दिनुभयो ।

ती मृत्यु भएका व्यक्ति पनि ढिला गरी अस्पताल ल्याएपछि ज्यान गुमाउन पुगेको उहाँले बताउनुभयो । यस्तै सर्पले डसेपनि धामीझाक्री तथा झारफुकमै लाग्दा अस्पताल नल्याउदै बाटोमै १७ जनाको ज्यान गएको उहाँले जनाउनुभयो ।

चेतानाको कमी र अन्धविश्वासले गर्दा धेरैले ज्यान गुमाउनु परेको भन्दै अब ग्रामीण भेगमा गएर चेतनामूलक कार्यक्रम गर्नुपर्नेमा जोड दिनुभएको छ ।

सर्पले डस्ने बित्तिकै कसैको ज्यान नजाने भन्दै विरामीले आत्मविश्वास गुमाउन नहुने उहाँले अनुभव छ । सर्पदंशका विरामीमध्ये अधिकांश ग्रामीण स्तरका रहेका छन् । चेतानाको कमी, आर्थिक अवस्था र शिक्षाको कमीले पनि समस्या हुने गरेको भन्दै अब गाउँगाउँमा गएर चेतनामूलक कार्यक्रम गर्नुपर्ने बताउनुभयो । यसका लागि अस्पतालले मात्र चाहेर नहुने भन्दै केन्द्र, प्रदेश हुँदै स्थानीय सरकारको साथ र सहकार्यमा अगाडी बढ्न सक्ने बताउनुभयो ।

बुद्धभूमी नगरपालिकाले पनि अस्पताललाई सहयोग गर्दै आएको भन्दै आवश्यक स्वास्थ्य सामग्रीको अभावमा कसैले ज्यान गुमाउनु नपरेको बताउनुभयो ।

केन्द्रमा पश्चिम नेपालका दाङ, प्यूठान, अर्घाखाँची, रुपन्देही लगायत भारतको सिद्धार्थ नगरसम्मका सर्पदशंका विरामी आउने गरेका छन् । तर, सरकारले उचित बन्दोबस्त गर्न नसक्दा केन्द्रले आर्थिक समस्या झेल्दै आएको छ । यद्यपि बुद्धभूमि नगरपालिकाका नगर प्रमुखका रुपमा केशव कुमार श्रेष्ठले चुनाव जितेसंगै केही हदसम्म केन्द्र सञ्चालनमा सहजता आएको छ । नगर प्रमुख श्रेष्ठले नगरबाट केन्द्रलाई सक्दो सहयोग गर्दै आउनुभएको छ । केन्द्रको व्यवस्थापनमा खट्ने व्यक्तिलाई तलवभत्ताको सुविधादेखि विरामीलाई उपचारमा लाग्ने औषधिहरुमा नगर प्रमुख श्रेष्ठले व्यवस्था मिलाई दिनुभएको छ ।

गत फाल्गुण महिनामा उहाँकै पहलामा जिल्लाका १० स्थानीय तहका प्रमुखको सहभागीतामा केन्द्रलाई अझै व्यवस्थित बनाउने गरी नगर प्रमुख श्रेष्ठले छलफल आयोजना गर्नुभएको थियो । केन्द्र सबैको लागि भएकाले सबै स्थानीय तहले सहयोग गर्नुपर्ने र त्यसो हुँदा औषधिउपचारमा सघाउ पुग्ने उहाँको विश्वास थियो । यद्यपि कार्यक्रममा सहभागी शिवराज नगरपालिकाका नगर प्रमुख नेत्रराज अधिकारी लगायतले सर्पदंश उपचार केन्द्रलाई सक्दो सघाउने बचन दिनुभएको थियो ।

यो पनि पढ्नुहोस् अझै व्यवस्थित बन्दै गोरुसिंगेको सर्पदंश उपचार केन्द्र

यो उपचार केन्द्र गोरुसिंगेमा रहेको नेपाली सेनाको सक्रियतामा सञ्चालन भएको हो । लामो समय देखि केन्द्रको सबै व्यवस्थाकिय काम नेपाली सेनाले गर्दै आएपनि पछि बुद्धभूमिबासीको सक्रियतामा सबैको अपनत्व विकास भएको छ । सामान्य प्रतिक्षालयबाट सञ्चालन हुँदै आएको केन्द्र अहिले बुद्धभूमिबासीको जनश्रमदानबाट सुविधासम्पन्न भवन निर्माण भएको छ । जसले केन्द्रमा आउने विरामीलाई उपचारका लागि सहज भएको सर्पदशं उपचार केन्द्रका भवन निर्माण समितिका संयोजक निलकुमार श्रेष्ठ बताउँनुहुन्छ ।

प्रकाशित मिति : २२ श्रावण २०७७ बिहिबार ००:००  ७ : ३९ बजे