रोल्पा ।
रोल्पामा पहिलो जनयुद्ध सङ्ग्रहालय स्थापना गरिएको छ । त्रिवेणी गाउँपालिका तिलाको मूल प्रवेशद्वारमा जनयुद्ध स्मृति राष्ट्रिय सङ्ग्रहालय स्थापना गरिएको हो ।
जनयुद्ध सुरु भएको रोल्पामा भावी पुस्तालाई इतिहासको रूपमा चिनाउने उद्देश्यका साथ जनयुद्ध स्मृति राष्ट्रिय सङ्ग्रहालय स्थापना गरिएको हो ।
मूल प्रवेशद्वारमा जनमुक्ति सेनाको तस्वीर कोरिएको छ । उक्त तस्वीरमा महिला जनमुक्ति सेनाले पिठ्युँमा बच्चा, हातमा बन्दुकसहित पुरुष सेनासँगसँगै पहाडमा उकालो लाग्दै गरेको युद्धताकाको दुर्लभ तस्वीरलाई झल्काइएको छ ।
सङ्ग्राहलयमा यस्ता आवरण देख्दा आफू युद्ध लडेको स्मरण भएको पूर्वजनमुक्ति सेना अग्रिम पुनले बताए । यही ब्यारेकमा बसेर सहायक कमान्डरका रूपमा काम गरेको बताउँदै इतिहास झल्कने खालका संरचनालाई बचाउन सबैको मद्दत हुनुपर्ने पुनले बताए ।
देशकै पहिलो जनयुद्ध सङ्ग्रहालय भएकाले यसको अवलोकनबाट धेरै कुरा सिक्न सकिने प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले बताए ।
नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष खेम बुढामगरले जनयुद्धकालीन झल्को दिने सामग्रीलाई नमुनाका रूपमा राख्नुपर्ने बताए ।
उक्त सङ्ग्रहालयभित्र जनमुक्ति सेनाको ब्यारेकका सम्पूर्ण भौतिक संरचनाअन्तर्गत बङ्कर, ड्युटीपोस्ट, पुराना डिजाइनका भवन देख्न सकिन्छ ।
प्रतिक्रिया