काठमाडौं ।
बुधबार कोरोना संक्रमण पुष्टि भएका प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले काठमाडौंमा प्रहरी महानिरीक्षक, गृहमन्त्री, कानुन मन्त्री र प्रधानमन्त्रीलाई पनि भेटेको खुलेको छ।
काठमाडौंमा केही दिन बसेर जनकपुर फर्किएका यादवमा बुधबार राति कोरोना संक्रमण पुष्टि भएको थियो। मन्त्री यादव यही आइतवार जनकपुर फर्किएपछि बुधबार साँझ आएको रिपोर्टमा कोरोना संक्रमण पुष्टि भएको हो। उनले यो कुरा आफैंले पुष्टि गरेका छन्।
काठमाडौंबाट फर्किएपछि यादवले कोरोना परीक्षणका लागि जनकपुरमै स्वाब दिएका थिए। ‘हिजो मेरो पनि रिपोर्ट पोजेटिभ आएको छ।
तर, यससँग डराउनु पर्ने आवश्यकता छैनु, उनले भनेका छन्, ुसर्तकता अपनाएर यसविरुद्ध लड्नु पर्ने आवश्यकता छ।’ कोरोना संक्रमण पुष्टि भएपछि उनी जनकपुरमै होम आइसोलेसनमा छन्।
आइतवार जनकपुर जानुअघि उनले संघीय सरकारका शीर्ष नेतृत्वसँग भेटवार्ता गरेका थिए। तर यादवलाई काठमाडौंमै या जनकपुरमध्ये कहाँ कोरोना संक्रमण भएको हो भन्ने खुल्न सकेको छैन। मन्त्री यादवले बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा, गृहसचिव महेश्वर न्यौपानेसहितसँग भेटघाट गरेका थिए।
त्यहाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रस्ताव पारित गर्न प्रहरी समायोजनसम्बन्धी समन्वय समितिको बैठकमा उनी सामेल भएका थिए। त्यहाँ उपस्थित हुने क्रममा यादवसहित प्रधानमन्त्री र गृहमन्त्रीले सामूहिक फोटो पनि खिचाएका थिए।
उक्त बैठकका क्रममा प्रधानमन्त्री ओली, गृहमन्त्री थापा, सातै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीहरू, गृह सचिव, गृहमन्त्रीका सल्लाहकार र प्रहरी महानिरीक्षकसँग उनले भेट गरेका थिए।
त्यसैगरि उनले काठमाडौंमै रहँदा कानुन मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेसँग पनि बैठक गरेका थिए। त्यस बैठकमा पनि उनीसहित सातै प्रदेशका आन्तरिक मामिला मन्त्रीहरु पनि सहभागी रहेको खुलेको छ।
सामान्यत एकजना व्यक्तिलाई कोरोना पुष्टि भएपछि उनीसँग सम्पर्कमा आएकाहरुको पनि कोरोना परीक्षण गर्ने गरिन्छ। उनको पनि कन्ट्याक्ट ट्रेसिङ प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ। उनीसहित उनको मन्त्रालयका अन्य सातजना कर्मचारीलाई पनि बुधबारै साँझ कोरोना पुष्टि भएको थियो।
प्रतिक्रिया