काठमाडौं ।
बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा कोरोनाभाइरसको संक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ। सर्लाही मलंगवा नगरपालिका की ६५ वर्षीया वृद्धाको बुधबार मध्यान्ह साढे १२ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता एसपी डा. प्रविन नेपालले जानकारी दिए।
ती वृद्धामा ज्वरो आएपछि स्थानीय अस्पतालमा उपचार गराएका थिए। तर स्वास्थ्य समस्या बिग्रिएपछि उनलाई स्वयम्भूस्थित मनमोहन अस्पतालमा भर्ना गरिएको थियो।
गत शुक्रबार ९१६ गते० मनमोहनमा भर्ना गर्दा उनलाई भेन्टिलेटरमा राखिएको थियो, एसपी डा. नेपालले भने, उनको त्यही दिन कोरोना परीक्षण गर्न स्वाब झिकिएको थियो। आइतबार उनमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको डा. नेपालले जानकारी दिए।
उनमा संक्रमण देखिएपछि सोमबार बलम्बुस्थित एपिएफ अस्पतालमा रिफर गरिएको थियो। उनलाई त्यहाँ पनि भेन्टिलेटरमै राखेर उपचार गरिएको थियो।
उनको शव व्यवस्थापन नेपाली सेनाले गर्ने तयारी थालेको छ। शव व्यवस्थापनको लागि श्रीयुद्ध कवच गण सितापाइलाका प्रमुख सेनानी देवेन्द्र खड्का नेतृत्वको टोली खटिएको छ।
त्यस्तै, वृद्धाको मृत्यु भएपछि कुरूवा बसेका उनका दुई छोराको पनि कोरोना भाइरसको परीक्षण गर्न बुधबार स्वाब संकलन गरिएको छ।
प्रतिक्रिया