बुटवल ।
बुटवल उपमहानगरपालिकाको वडा नं. ९ र ११ मा पर्ने कालिकापथ बिस्तारका क्रममा सडक क्षेत्र मिचेर बनाएका बाँकी घर भत्काइएको छ ।
कालिकापथलाई ८२ फुटको बनाउने क्रममा सडकको क्षेत्राधिकार ओगटेर बनेका संरचना हटाउन घरधनीलाई आग्रह गरे पनि अटेर गरेपछि उपमहानगरपालिकाले प्रहरीको सुरक्षा घेरा बनाएर डोजर चलाएको हो । सडक क्षेत्रका अधिकांश घरहरु हटाएपनि केही घरधनीले घर भत्काउन अटेरी गर्दै आएका थिए ।
पटक–पटक सडकको क्षेत्राधीकार मिचेका घरहरु भत्काउन आग्रह गर्दा पनि अटेरी गरेपछि उपमहानगरपालिकाले यही साउन १९ गते २४ घण्टाको म्याद दिएको थियो ।
उपमहानगरपालिकाले दिएको अन्तिम म्यादसम्म पनि घरधनीले घर नभत्काएपछि प्रहरीको सुरक्षामा डोजर चलाउनुपरेको बुटवल उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिए ।
कालिकापथलाई बुटवल उपमहानगरपालिकाले वैकल्पिक सडकको रुपमा बिस्तार गर्ने योजना बनाएको छ । पुरानो बसपार्कदेखि भित्री सडक योगीकुटीसम्मको कालिका पथ भनिने यो सडकलाई बिस्तार गरी २५ मिटर फराकिलो बनाइने छ ।
प्रतिक्रिया