स्याङजा ।
स्याङ्जामा मंगलबार साँझ थप ८ जना संक्रमित थपिएका छन् । कन्ट्याक्ट ट्रेसिङका आधारमा देखिएको संक्रमणमा एकाघरका ४ जनालाई कोरोना भाइरस पुष्टि भएको छ ।
केही दिनअघि कोरोना संक्रमण पुष्टि भएका पुतलीबजारका एक युवाका परिवारका बाबा, आमा, दाजु, भाउजुसहित उनका साथीहरु संक्रमित बनेको पुतलीबजार नगर स्वास्थ्य शाखा प्रमुख बिष्णुप्रसाद काफलेले जानकारी दिए ।
ती युवामा संक्रमण पुष्टिपछि स्वास्थ्य कार्यालयले उनका वडाका ३८ जनाको कन्ट्याक् ट्रेसिङ गरिएकोमा ३० जनाको रिपोर्ट नेगेटिभ र एक जनाको रिपोर्ट आउन बाँकी रहेको बताइएको छ ।
संक्रमण पुष्टि हुनेमा २ महिलासहित ६ जना पुरुष छन् । गण्डकी प्रादेशिक कार्यालय पोखराका निर्देशक डा. बिनोद बिन्दु शर्माका अनुसार ६९, ३०, ३३, ३२, २३, ३९ बर्षका पुरुष र ५२, २३ बर्षीया महिला हुन् । उनीहरु सबैलाई आइशोलेशनमा राखिएको छ ।
संक्रमितमध्ये ७ जना पुतलीबजारको र एक जना वालिङका ३९ वर्षका पुरुष रहेको पुतलीबजार नगर स्वास्थ्य शाखा प्रमुख काफलेले जानकारी दिए । योसँगै स्याङ्जामा संक्रमितको संख्या २ सय ७९ पुगेको छ ।
प्रतिक्रिया