८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

कपिलवस्तुमा ८ सय नाघे कोरोना संक्रमित, सोमबार थपिए दुई जना



मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तुमा कोरोना संक्रमितको संख्या ८ सय नाघेको छ । सोमवार थप दुई जना कोरोना संक्रमित भेटिए पछि संक्रमितको संख्या ८ सय १ पुगेको हो ।

स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार कपिलवस्तु नगरपालिकामा एक पुरुष र बाणगंगा नगरपालिकामा एक जना महिला संक्रमित थपिएका हुन् । कपिलवस्तु नगरपालिकामा भेटिएका संक्रमित ३० वर्षीय पुरुष हुन् ।

घाटी दुख्ने, ज्वरो आउने लगायतका लक्षण देखिए पछि उनलाई आइतबार प्रादेशिक अस्पताल बुटवल लागिएको थियो । बाणगंगा नगरपालिका– ९ की ४५ वर्षीया महिला कोरोना संक्रमित भेटिएकी हुन् । भारतबाट आएकी उनलाई भने कारोना लक्षण नदेखिएको स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले बताए ।

जिल्लामा हालसम्म ९ हजार ४ सय २८ स्वाब संकलन भएको छ । जसमध्ये ७ सय १२ जनाको नतीजा आउन बाँकी छ । ८ सय १ संक्रमित मध्ये ५ सय ४८ जना निको भई घर फर्की सकेका छन् ।

अहिले देशका विभिन्न जिल्लासहित कपिलवस्तुमा समेत धमाधम लक्षणसहितका कोरोना संक्रमित भेटिएका हुन् । ज्वरो आउने, घाटी दुख्ने, श्वास प्रश्वासमा समस्या, पखला लागेका लक्षण भएका संक्रमित भेटिन थालेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

समुदायस्तरमा र लक्षणसहितका कोरोना संक्रमित भेटिन लागेको अब कपिलवस्तुमा कोरोनाको झन जोखिम बढेको कपिलवस्तु अस्पतालका मेडिकल सुप्रिटेन्डेन्ट किशोर बन्जाडले बताए ।

उनले अब सचेत र सावधानी अपनाउने बेला आएको बताए । बाहिर हिड्दा अनिवार्य मास्क लगाउनु पर्ने, भीडभाडमा जान नहुने, सामाजिक दुरी कायम गर्नु पर्ने, साबुन पानीले हात धुनु पर्ने, सेनिटाईजरको प्रयोग गर्नु पर्ने लगातयका उनले सुझाव दिए । अहिले नेपालमा कोरोनाको मृत्युदर समेत बढ्दै गएकाले यस तर्फ सचेत रहन उनले आग्रह गरे ।

प्रकाशित मिति : १९ श्रावण २०७७ सोमबार ००:००  ९ : २५ बजे