८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

चेपाङको घर जलाउनु गम्भीर अमानवीय घटनाः बनमन्त्री



काठमाडौं ।
वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्‍नेतले मानविय त्रुटि हुन जाँदा चितवनको कुसुम खोलामा घटना घटेको बताएका छन् । संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बुधबारको बैठकमा मन्त्री बस्नेतले मानविय त्रुटीका कारण चेपाङ वस्तीमा घर जलेको बताएका हुन् ।

मन्त्रालयले घटनाको छानविन गर्न सहसचिवको नेतृत्वमा गठन गरेको समितिले प्रारम्भिक विवरण दिएको बताउँदै चेपाङ वस्तीमा गोठ नभई त्यहाँ रहेका ८ घर भत्काउने र जलाउने काम भएको उनले बताए ।

भूमि व्यवस्थापनको काम अगाडि बढिरहेको अवस्थामा निकुञ्जका कर्मचारीले हात्ती लगाएर घर भत्काउने तथा आगो लगाउने काम गर्नु अमानवीय भएको समेत मन्त्री बस्नेतले बताए । उनले घटना छानविन गर्न मन्त्रालयले गठन गरेको समितिको प्रतिवेदन आइनसकेको जानकारी समितिलाई गराएका छन् ।

मन्त्री बस्नेतले निकुञ्जका कर्मचारीले गरेको गल्ती ढाकछोप नगरिने प्रतिवद्धता जनाउँदै उक्त घटनालाई लिएर आफू गम्भीर रहेको बताए । समितिले भने घटनालाई संवेदनशील भई छानविन गर्न मन्त्री बस्नेतलाई निर्देशन दिएको छ । बैठकका निर्णय सुनाउँदै समिति सभापति पूर्ण कुमारी सुवेदीले यस्तो घटना दोहोरिन नदिन र दोषीमाथि कारवाही गरी पिडित पक्षलाई क्षतिपूर्ति दिन निर्देशन दिइन् ।

समितिले समाजिक वञ्चितीकरणमा रहेका र निकुन्जलाई नै आफ्नो जीविकोपार्जनको आधार बनाउँदै आएका निकुन्ज वरपरका बासिन्दाको व्यवस्थापन ६ महिना भित्र गर्नसमेत मन्त्रालयलाई निर्देशन दिएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०७७ बुधबार ००:००  ९ : ४८ बजे