दाङ ।
अविरल वर्षापछि खोलाहरूमा आएको बाढीले दाङमा दुई वटा एम्बुलेन्स बगाएका छन्। घोराही उपमहानगरपालिका वडा नं११ स्थित हापुर खोलाले गएराति रा १ च ८१२ नम्बरको एम्बुलेन्स बगाएको हो।
बिरामी बोकेर घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको उक्त एम्बुलेन्स करिब २० मिटर तलसम्म पुगेको हो। बुधबार बिहान सात बजेतिर मात्रै एम्बुलेन्स क्रेनको सहायताले निकालिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी सुमित खड्काले बताए।
गाडीमा चालकसहित ४ जना मात्रै रहेको र सबै सकुशल रहेको उनले जानकारी दिए। त्यस्तै, बुधबार बिहान करिब साढे २ बजेतिर घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ त ८११ नम्बरको एम्बुलेन्स घोराही ४ स्थित सिस्ने खोलाले बगाएको छ। करिब १५ मिटर तल पुगेको उक्त एम्बेलेन्समा ६ जना सवार रहेको र उनीहरू सबै सकुशल रहेको डिएसपी खड्काले बताए।
स्थानीय र प्रहरीको सहयोगमा उनीहरूको उद्धार गरिएको प्रहरीले बताएको छ। तुलसीपुर–घोराही– लमही सडक खण्डमा पानीमुनि निर्मित कचवेका कारण खोलाहरूमा बाढी आउँदा जोखिमयुक्त यात्रा गर्नुपर्ने अवस्था छ।
गत साल ग्वारखोला, गुर्जेखोला, कट्वा र बबईमा पक्की पुल निर्माण भइसकेको छ। तर अझै पनि पत्रेखोला, हापुर खोला, सिस्ने, सेवार, खोलामा भने पुल निर्माण भइसकेको छैन। जसले गर्दा बाढी आउँदा साना सवारी साधन सञ्चालनमा आउन सक्दैनन्। पत्रे खोलामा विगत ५ वर्षदेखि निर्माण थालिएको पुलको पिलर मात्रै उठाइएको छ।
प्रतिक्रिया