८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

कपिलवस्तुको बाणगंगामा ब्याडमिन्टनको क्रेजः दर्जनौँ स्थानमा कोर्ट बनाएर जम्दै प्रेमीहरु !




चन्द्रकान्त न्यौपाने, चार नम्बर ।
कपिलवस्तुको बाणगंगा नगरपालिकामा ब्याडमिन्टनको ठुलो क्रेज देखिएको छ । यसअघि ‘प्रोफेसनल’ ब्यक्तिहरु मात्र कार्ट बनाएर खेल्ने परिपाटरी रहे पनि अहिले भने नगरका दर्जन बढी स्थानमा कोर्ट बनाएर खेल खेल्ने कामहरु भइरहेको छ । विहान र साँझ चार नम्बर, ओदारी, गजेहडा, पिपरा, वैरिया, राजपुर, बोडगाउँ, बनगाई, झुँगा लगायतका दर्जन बढी स्थानमा ब्याडमिन्टन खेल खेल्नेहरुको लाम देखिन्छ ।

विहान पाँच बजेदेखि ८ बजेसम्म र साँझ ५ बजेदेखि राति ८/९ बजेसम्म नै खेल प्रेमीहरु (सुरक्षाकर्मी, बैङ्कर, स्वास्थ्यकर्मी, शिक्षक, एक्स आर्मी, संचारकर्मी, ब्यापारी, ब्यवसायी, विद्यार्थी, युवा) हरु कोर्टमा झुमेको देखिन्छ । विहान मात्र नभएर राति वैरिया, बनगाई, चार नम्बर, झुँगा लगायतका स्थानमा रातिमा लाइटको समेत ब्यवस्था गरिएको छ ।

कपिलवस्तुको उत्तरी क्षेत्र मुख्य गरी फुटवलको क्रेज भएको जिल्ला हो । त्यसपछि क्रिकेट र भलिबलमा यहाँका युवाको आर्कषण थियो । कोरोनाको कारण लकडाउन भएपछि समुहमा भेला भएर ती खेल खेल्न सम्भव नभएपछि अहिले ह्वात्तै ब्याडमिन्टनप्रति युवाहरुको आर्कषण खेलप्रति मानिसहरुको आकर्षण बढेको ब्याडमिन्टन खेलाडी तथा इलाका प्रहरी कार्यालय पिपराका इन्सपेक्टर आयूश जोशी बताउनु हुन्छ ।

आफू सुरुमा कपिलवस्तु आउँदा यस्तो क्रेज थिएन उहाँले भन्नु भयो, ‘अहिले यहाँका युवा र अफिसियल मान्छेमा पनि ब्याडमिन्टन प्रतिको क्रेज देख निकै खुसी लाग्छ ।’ आफु ब्याडमिन्टन नियमित रुपमा खेल्ने गरेको बताउँदै उहाँले लक डाउनको बेला खेल्न सम्भव, शरीरलाई स्फुर्ति दिने र स्वस्थ बनाउने खेल ब्याडमिन्टन मात्रै भएको जोशीको भनाई छ ।

खेल खेल्ने मात्र होइन अहिले बिभिन्न प्रतियोगिता पनि हुन थालेका छन् । ती प्रतियोगितामा पनि भाग लिने ब्याडमिन्टन जोडिको उल्लेख्य सहभागिता देख्न सकिन्छ । केही समयअघि रोटर्याक्ट क्लव अफ कपिलवस्तु मिड टाउन र कपिलवस्तु जेशिजले आयोजना गरेको नगरस्तरीय ब्याडमिन्टन प्रतियोगितामा क्रमश २० र २४ टिमले भाग लिए ।

ती प्रतियोगितामा भाग लिएका खेलाडीको प्रदर्शन देख्दा यहाँबाट राष्ट्रिय खेलाडी नै उत्पादन हुने सम्भावना रहेको बताउनु हुन्छ यस क्षेत्रका पुराना ब्याडमिन्टन खेलाडी खडक आले । आले यस क्षेत्रका अनुभवी र राम्रो दक्षता भएका खेलाडी हुनुहुन्छ ।

यस्तै अर्का खेलाडी झुँगाका अमर रेश्मीले पनि अहिले ब्याडमिन्टन प्रति यो क्रेज देख्दा निकै खुसी लागेको बताउनु भयो । उहाँले भन्नुभयो ‘सुरुमा हामी केही साथी मात्रै खेल्थ्यौँ अहिले सबैजनाले ब्याडमिन्टन खेल्न रुची देखाउनु भएको छ । यसले उत्साहित बनाउँछ ।’

नगरमा यो खेल प्रति कति क्रेज छ भन्ने कुरा कभर्ड हलमा भउको लगानी, बिभिन्न सथानमा कोर्ट बनाउन गरेको मिहिनेत र र्याकेटमा भएको खर्चले पनि देखाउँछ । नगरमा पहिलोपटक ओदारीमा कभर्ड हल नै बनेको छ । त्यहाँ कभर्ड हल र अन्य स्थानमा अभ्यास गर्ने दर्जन जति टिम छन् । घरमा सामान्य रुपमा खेल्न अभ्यास गरेकाहरुले पनि ठाउँठाउँमा कोर्ट बनाउन खर्च गरेका छन् ।

अहिले नगरका विद्यालय, होटल तथा रिसोर्टमा धमाधम ब्याडमिन्टन कोर्ट बनिरहेका छन् । गजेहडाको बाल माविमा २ वटा कोर्ट नै बनेर विहान साँझ खेल भइरहन्छ । यस्तै अन्य खाली स्थानमा समेत कोर्टहरु बनिरहेका छन् ।

यस्तै खेलाडीहरुले अन्य खर्च कटाएर भए पनि र्याकेटमा मनग्य लगानी गरेको पाइन्छ । यस खेलको लागि मध्यम स्तरको र्याकेट किन्न न्यून्तम पनि ३ हजार चाहिन्छ । अचम्मको कुरा त के छ भने यहाँ एक जोडि र्याकेटको लागि मात्रै ४२ हजारसम्म खर्चिएको पाइन्छ । ४ नम्बर जितपुरका खड्क आले यस कोटीका खेलाडी हुनुहुन्छ ।

यस्तै ५ हजार, ७ हजार, १० हजार, १५ हजारका र्याकेट धेरैले प्रयोग गर्ने गरेका छन् । बाणगंगाको यो क्रेजले यहाँ धेरै राम्रो सम्भावना रहेको हाम्रो खेलकुद डटकमका प्रधान सम्पादक तथा वरिष्ठ खेल पत्रकार प्रकाश तिमिल्सिना बताउनु हुन्छ । ब्याडमिन्टनमा राष्ट्रिय अन्तर्राष्ट्रिय सम्भावना ठुलो रहेकाले स्थानीय तहको सरकारले पनि यस्ता हिडन खेललाई प्राथमिकतामा राखेर प्रतियोगिता गर्न तिमिल्सिना सुझाव दिनुहुन्छ ।

पहिले नियम बाहिर खेल भए पनि अहिले हरेक स्थानमा नियम बनाएरै यसको मापदण्ड अनुसार खेल हुने गरेको छ । कोभिड १९ को बीचमा २ पटकसम्म भएका नगरस्तरीय प्रतियोगितामा पनि हेर्ने दर्शकले विहानदेखि राति ११ बजेसम्म साथ दिएका थिए । खेल खेल्ने मात्र नभएर हेर्नेको उल्लेख्य सहभागित रहेको देखिनुले सानादेखि ठुलासम्म खेलको मोह रहेको पुष्टि हुन्छ ।

प्रकाशित मिति : १३ श्रावण २०७७ मंगलबार ००:००  ११ : ०७ बजे