मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तु, दक्षिणी अर्घाखाँची लगायतका स्थानमा मंगलबार (आज) विहानदेखि मुसलधारे बर्षा सुरु भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले अनुमान गरे अनुसार सोमबार रातिबाट मौसम बदली भएको थियो ।
सोमबारराति सिमसीम पानी परे पनि विहान भने कपिलवस्तु, अर्घाखाँची, रुपन्देही लगायत प्रदेश ५ का जिल्लामा मुसलधारे बर्षा भएको हाम्रा संवाददाताहरुले जनाउनु भएको छ ।
अर्घाखाँची लगायतका पहाडी जिल्लामा पनि भारी बर्षा भएकाले कपिलवस्तु भएर बग्ने बाणगंगा(भागिरथी) नदीको जल सतह बढ्न सक्ने अनुमान गरिएको छ । त्यसैले त्यस नदी तटीय क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई सतर्क रहन पनि अनुरोध गरिएको छ ।
यस्तै बाणगंगासहित कोइली खोला, कुन्द्रा खोला, गुड्रुङ, सुरइ, चिरई आदि खोलामा पानीको बहाव बढ्ने अनुमान छ ।
अविरल बर्षा भइरहेको हुनाले अघाँखाँचीको शीतगंगा नगरपालिका भएर बग्ने गंगा, शीतखोला लगायतका खोलामा जल सतह बढ्दा बाणगंगा लगायतका नदीमा बहाव बढ्ने गर्दछ ।
अहिले अर्घाखाँचीमा पनि भारी बर्षा भइरहेकाले जतिखेर पनि बाणगंगा लगायतका नदीमा पनि बहाव बढ्न सक्छ । त्यसैले दाउरा टिप्न, गाईभैँसी चराउन या अन्य प्रयोजनमा खोलामा प्रवेश नगर्न अनुरोध गरिएको छ ।
यसअघि बाणगंगा नदीमा यस बर्षकै धेरै बहाव र गति हुँदा दुई जना बीचमा अलपत्र परेका थिए । विहानै खोलामा दाउरा टिप्न गएका बेला बाणगंगा पुल नजिक फसेका उनीहरुलाई नेपाली सेना र प्रहरीले बचाएको थियो । खोलो एक्कासी उर्लेर आएपछि भाग्दाभाग्दै उनीहरु बीचमा फसेका थिए । त्यसैले जतिखेर पनि बाढी आउन सक्ने भएकाले ढुक्क नहुन पनि सर्वसाधारणलाई अनुरोध गरिएको छ ।
यो बर्षा विहीबारसम्म हुने भएकाले यो बीचमा डुबानको खतरा पनि रहेको छ । मुख्य गरी बढी पानी पर्दा कपिलवस्तुको सदरमुकाम तौलिहवा, गोरुसिंगे, चन्द्रौटा, कृष्णनगर लगायतका दक्षिणी क्षेत्रका बासिन्दाका भूमि डुबानमा पर्दछ । त्यस क्षेत्रमा पनि सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
प्रतिक्रिया