८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

सिद्धार्थ राजमार्ग एकतर्फी खुल्यो



पाल्पा ।
झन्डै तीन मिटर सडक भासिएपछि सोमबार बिहान साढे ४ बजेबाट अवरुद्ध सिद्धार्थ राजमार्ग दश घण्टापछि एकतर्फी खुलेको छ । राजमार्गको तिनाउ गाउँपालिका–३ नागमन्दिर नजिकै सडकै भासिने गरी पहिरो खस्दा राजमार्गको तीन मिटर क्षेत्र बगाएको छ ।

दोभान प्रहरी चौकीदेखि करिब एक किलोमिटर पाँच सय मिटर अगाडि नागमन्दिर नजिकैको पक्की सडकको जग नै भासिने गरी पहिरो खसेको दोभान प्रहरी चौकी प्रमुख सोमबहादुर सारुले बताए ।

यही स्थानमा दुई वर्षअघि पनि सडक भासिने गरी पहिरो खसेको थियो । सडक डिभिजनले एक करोड बढी खर्च गरेर जाली भर्ने, वाल लगाउने कार्य गरेको थियो ।

यस वर्ष पुनः पहिरो खसेर माथिल्लो भागको जाली र तल्लो भागको पर्खालसमेत बगाएको छ । रामापिथेकस पार्कदेखि सय मिटर अगाडिसमेत पहिरो खस्दा सडक भासिएको छ । यही स्थानमा यसअघि झन्डै ५ करोड खर्च गरेर तिनाउ खोलादेखि नै रोकथाम गरिएको थियो । सडक डिभिजनले काम गरेपनि पुनः सोही स्थानमा सडक भासिएको हो ।

यस्तै सिद्धबाबा नजिकै पनि सडक भासिने गरी पहिरो खसेको छ । राजमार्गकै भूतखोला नजिकै भासिएको सडक तीन वर्षदेखि सडक डिभिजनले बनाएको छैन । रोकथाम गरेपनि सडक भासिएको स्थानमा सवारी साधनको ओहोरदोहोरमा समस्या छ । पानी मिल नजिकै ५० मिटर सडक भासिएको छ । यस्तै चौबिस माइल नजिकैसमेत सडक भासिएको छ । झन्डै ६० मिटर लम्बाइमा सडक भासिएको छ । जोखिम बढेपछि ढुंगा राखेर सवारी साधन एकतर्फी बनाइएको छ ।

वर्षाले तराईबाट पहाड जोड्ने सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडकखण्डको ठाउँठाउँमा पहिरो खसेर राजमार्ग अवरुद्ध भएको थियो । माथिल्लो सिद्धबाबा नजिकको खोल्सामा पनि माथिल्लो भागबाट ठूल्ठूला ढुंगासहितको खसेको छ ।

सडकमा पहिरो खसेपछि पाल्पाबाट बुटवल साथै बुटवलबाट पाल्पा स्याङ्जा, गुल्मी, कास्की, बागलुङ, पर्वत र म्याग्दीतर्फबाट बाटोमै रोकिएका सवारी साधन गन्तव्यतर्फ पठाउन थालिएको प्रहरी सहायक निरीक्षक भुसालले बताए । उनका अनुसार मिलाएर सवारी साधनलाई पठाइएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७७ मंगलबार ००:००  ५ : ३१ बजे