मायादेवी अनलाइन, तौलिहवा ।
उच्च अदालत तुलसीपुर बुटवल इजलासले तौलिहवामा निर्माण सुरु भएको हुलाकी सडकको कामलाई निरन्तरता दिने आदेश गरेको छ ।
हुलाकी सडक आयोजना कपिलवस्तुले एक साताको समयसीमा दिएर गत साउन ३ गतेबाट सडक अतिक्रमण हटाउन सुरु गरे पछि त्यसका बिरुद्ध तीन जनाले निषेधाज्ञा उत्प्रेषण र परमादेशका लागि गत साउन ५ गते रिट दायर गरेका थिए ।
स्थानीय कालीपद शर्मा, रोहित उपाध्याय र सुरेश शर्माले हुलाकी सडक आयोजना, प्रशासन कार्यालय र कपिलवस्तु नगरपालिका माथि सो काम रोक्का हुनु पर्ने माग गर्दै रिट दायर गरेका थिए ।
रिटमा न्यायधिश बावुराम रेग्मीको इजलासले साउन ५ गते अल्पकालीन परमादेश जारी गर्दै साउन १२ गते दुबै पक्षलाई छलफलका लागि अदालतमा बोलाएको थियो ।
यो पनि पढ्नुहोस्
तौलिहवा बजार आसपासका संरचना भत्काउने कार्यलाई उच्च अदालतले रोक्यो
सोही बिषयमा सोमवार पक्ष र बिपक्षका कानुन ब्यवसायीहरुको प्रमाण र बहस पछि गत साउन ५ गते दिइएको अल्पकालीन आदेशलाई निरन्तरता दिनु नपर्ने आदेश जारी भएको कपिलवस्तुु नगरपालिकाका कानुनी सल्लाहकार हुम बहादुर कुँवरले जानकारी दिए । न्यायधिशद्धय बावुराम रेग्मी र केशवराज जोशीको संयुक्त इजलासले सो आदेश गरेका हुन् ।
सडक ऐन २०३१ अनुसार हुलाकी राजमार्गको मापदण्ड तोकिएको २०३१ भन्दा अघि निर्माण भएका संरचनालाई क्षतिपूर्ती दिने र घरबारबिहीन भएकालाई बसोवासको ब्यवस्था गर्नु भनि गत असार २५ गते प्रशासन कार्यालयमा निर्णय भएको अदालतको आदेशमा भनिएको छ ।
आधिकारिक निकायबाट भएको निर्णय सदायसताका साथ कार्यान्वयन हुन्छ भनि बिश्वास गर्नु पर्ने र रिट निवेदनमा उठाईएका अन्य बिषय अन्तिम आदेश हुँदाका बखत सम्बोधन नै हुने आदेशमा उल्लेख गरिएको छ ।
रिट निवेदनको पक्षका तर्फबाट अधिवक्ता हिमलाल न्यौपाने, बिपक्षी कपिलवस्तु नगरपालिकाको तर्फबाट बरिष्ठ अधिवक्ता कमलराज जोशी र शालिकराम बन्जाडे, सहायक न्यायधिबक्ता धर्मराज जोशीले बहस गरेका थिए ।
अदालतको सो आदेशसंगै अब हुलाकी बाटो निर्माणका लागि बाटो खुला भएको कपिलवस्तु नगरपालिकाका मेयर किरण सिंहले प्रतिक्रिया दिएका छन् । उनले अब हुलाकी राजमार्ग आयोजनासंग समन्वय गरी सडक निर्माणको काम अघि बढाईने बताए ।
अहिले तौलिहवा सडक क्षेत्रमा बनाईएका संरचनाहरु धमाधम हटाइएको छ । तौलिहवाको जमुहार टोलदेखि छोटकी तौलिहवाको मस्जिदसम्म २३ सय ४० मिटरमा २ सय ७३ वटा संरचना सडक क्षेत्रमा छन् । यस्तै जमुहार देखि भवानी भिक्षुसम्म भने ५ सय ७३ वटा संरचना सडकमा परेको कपिलसतु नगरपालिकाले जनाएको छ ।
प्रतिक्रिया