८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

स्व.लाटोसाथीको श्रद्धाञ्जली सभा, भाषा तथा साहित्यमा अपुरणीय क्षति !



बाबुराम रायमाझी, भलवाड ।
नेपाली भाषा तथा साहित्यका मूर्धन्य साहित्यकार स्वर्गीय प्राध्यापक डा.विष्णुराज आत्रेय (लाटोसाथी) को आज ११ आँै दिनको पुण्य तिथीको अवसरमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।
कपिल आरोग्य मन्दिर कपिलधामको आयोजनामा सम्पन्न श्रद्धाञ्जली सभामा बोल्ने वक्ताहरुले लाटो साथीले नेपाली बाङमय क्षेत्रमा दिनुभएको योगदानको चर्चा गर्दै स्मरण गरेका थिए ।

प्रदेश साँसद विष्णु पन्थी, लुम्विनी वाङमय प्रतिष्ठानका अध्यक्ष हिमलाल ज्ञवाली, कपिलधामका अध्यक्ष शंकर प्रसाद आचार्य, वडा नम्बर ९ का वडध्यक्ष धु्रव बेलबासे लगायतले लाटो साथीको निधनले नेपाली बाङमय तथा भाषासाहित्यमा ठुलो क्षति भएको भन्दै दुख व्यक्त गर्नु भएको थियो ।


सांसद पन्थीले लाटो साथीले देखाएको बाटोमा लागेर उहाँले पुरा गर्न नसकेका कामहरु पुरा गरेमा मात्र उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताउनु भयो । सांसद पन्थीले अबका श्रष्टाहरुले स्वर्गीय लाटो साथीबाट धेरै कुराहरु सिक्नु पर्ने आवश्यकता औँल्याउनु भयो । आत्रेयका भाइ हरिराज शर्माले लाटो साथीको मुक्तकण्ठले चर्चा गर्दै उहाँको जीवनीबारे प्रकाश पार्नु भएको थियो ।

आत्रेय जिल्लाकै पवित्र साहित्यिक तथा पर्यटकीय स्थल कपिलधामका परिकल्पनाकार, पंतञ्जली ऋषिको खोजकर्ता तथा संस्कृत ब्याकरणका प्रकाण्ड विद्धान हुनुहुन्थ्यो । शारीरिक रुपमा उहाँ थाक्दै गएको भए पनि भाषा तथा साहित्य लेखनमा भने कहिल्यै थाक्नु भएन । उहाँ कपिलधामका वरिष्ठ सल्लाहकार तथा आजिवन सदस्यसमेत रहनु भएको थियो । कार्यक्रमका पदाधिकारीहरु, साहित्यिक व्यक्तिहरु, जनप्रतिनिधिहरु तथा सर्वसाधरणहरुको सहभागिता थियो ।

तौलिहवामा विक्रम सम्वत २००३ साल पौष २५ गते जन्मनु भएका स्वर्गिय आत्रेय वाल्यकालदेखि नै नेपाली भाषा तथा साहित्यको उत्थानमा लाग्नु भएको थियो । औपचारिक रुपमा विद्यावारिधी हासिल गर्नु भएका उहाँ व्याकरणकार, काव्यकार, निवन्धकार, तथन समालोचकका नामले पनि परिचित हुनहुन्थ्यो ।

स्वर्गीय आत्रेयका अहिलेसम्म ३ दर्जन बढी कृति प्रकाशन भइसकेका छन् । केही कृति प्रकाशनको तयारीमा रहनु भएका उहाँको एक्कासी निधन भएपछि त्यो सपना पुरा हुन पाएको थिएन । त्यसैले उहाँको सम्मान स्वरुप कपिलधामले कृति प्रकाशनका लागि ९ सदस्य तदर्थ समिति गठन गरेको छ । साथै आत्रेयको सम्मान स्वरुप प्रतिष्ठान तथा शालिक निर्माण गर्ने पनि कपिलधामले जनाएको छ । कार्यक्रमको सहजीकरण ऋषि साहित्यकार तथा लेखक क्रषि आजादले गर्नु भएको थियो ।

प्रकाशित मिति : १२ श्रावण २०७७ सोमबार ००:००  ७ : २४ बजे