८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

समुदायस्तरमा कोरोना संक्रमण फैलिएको छैनः स्वास्थ्य मन्त्रालय



काठमाडौं ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समुदायस्तरमा कोरोना भाइरस संक्रमण नफैलिएको बताएको छ । मन्त्रालयको कोभिड १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा।डा। जागेश्वर गौतमले हालसम्म कोरोना भाइरस समुदायस्तरमा नफैलिएको बताए ।

हाल देशका केही ठाउँमा एकै समयमा धेरै कोरोना संक्रमित भेटिएका छन् । एकै ठाउँमा धेरै संक्रमित भेटिएकाले समुदायस्तरमा कोरोना फैलिएका कुराहरू बाहिर आएका छन्, उनले भने, हालसम्म नेपालमा कोरोना समुदायमा फेलिएको प्रमाणित भएको छैन ।

भाइरसको फैलावटको वर्गीकरणअनुसार विश्व स्वास्थ्य संगठनले नेपाललाई ठाउँ विशेषले कोभिड(१९ को केस भएको मुलुकको रूपमा राखेको उनले बताए । कोरोना भाइरस समुदायमा फैलिएको छरछैन भनेर स्थानीय तहबाट थप खोजपड्ताल निरन्तर भइरहेको मन्त्रालयले जनाएको छ ।

प्रवक्ता गौतमले समुदायमा कोरोना नफैलिए पनि संक्रमणको जोखिम यथावत् नै रहेको बताए । उनले जीवनशैली सामान्य हुने बेला नभएको भन्दै घरबाहिर जाँदा अनिवार्य मास्कको प्रयोग गर्न आग्रह गरे ।

कोरोना भाइरसको प्रकोपलाई थप फैलिन नदिन सबैले उच्च सतर्कता अपनाउन मन्त्रालयले आग्रह गरेको छ । कोरोना भाइरसको सम्पर्कमा आएको भए ज्वरो आउने सुक्खा खोकी लाग्ने वा श्वास फेर्न गाह्रो भए स्वास्थ्य संस्थामा सम्पर्क राख्न आग्रह गरेको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७७ सोमबार ००:००  ५ : ४५ बजे