जनकपुरधाम ।
धनुषामा एकजनाको कोरोनाबाट मृत्यु भएपछि प्रादेशिक अस्पताल जनकपुरको आइसीयू वार्ड सिल गरिएको छ।
आइतबार प्रादेशिक अस्पताल जनकपुरको आइसीयूबाट धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमितलाई रिफर गरिएकोमा बाटोमै मृत्यु भएपछि आइसीयू वार्ड सिल गरिएको कोभिड १९ विशेष अस्पताल जनकपुरका प्रमुख डा. जामुन सिंहले जानकारी दिए।
धनुषाको शहीदनगर नगरपालिका डुमरियाका ३८ वर्षीय एक युवकको उपचारको क्रममा मृत्यु भएपछि जिल्ला सुरक्षा समितिको निर्णयानुसार प्रादेशिक अस्पतालको आइसीयू कक्ष सिल गरिएको हो।
जनकपुरधामको एक निजी क्लिनिकमा चेकजाँच गराएकोमा ती युवकमा खोकी, श्वास प्रश्वासमा समस्या र ज्वरोसहितका कोरोना संक्रमणको लक्षण देखिएपछि प्रादेशिक अस्पताल रेफर गरिएको थियो।
साउन १० गते प्रादेशिक अस्पताल भर्ना भएका ती युवकको स्वास्थ्य अवस्था गम्भीर हुँदै गएपछि आइसीयूमा राखि उपचार भइरहेको थियो तर भेन्टिलेटरको आवश्यकता रहेकोमा प्रादेशिक अस्पतालमा भेन्टिलेटरको अभााव भएपछि उनलाई रेफर गरिएको थियो।
शनिवार भर्ना भएका मृतकको सोही दिन स्वाब संकलन गरिएको थियो भने मृत्यु भएपछि उनको रिपोर्ट पोजेटिभ आएको थियो।
कोरोनाबाट मृत्युको खबर पाएपछि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको सुरक्षा समितिको आकस्मिक बैठकबाट उपचारत स्थल आइसीयू कक्ष ७ दिनका लागि सिल गर्ने निर्णय गरिएको डा. सिंहले जानकारी दिए।
प्रतिक्रिया