एजेन्सी ।
अन्तिम संक्रमित भेटिएको भनिएको १०० दिनपछि भियतनाममा फेरि चारजना कोरोना संक्रमित भेटिएका छन्।
कोरोना भाइरसको उद्गमस्थल चीनसँग सिमाना जोडिएपनि भियतनामले महामारी नियन्त्रणमा सफलता प्राप्त गरेको भनिएको थियो। तर, महामारी नियन्त्रण भएको भनिएको तीन महिनापछि त्यहाँ फेरि चारजना नयाँ संक्रमित फेला परेका हुन्।
चीनबाट महामारी फैलानासाथ भियतनामले सीमा बन्द गरेको थियो भने क्वारेन्टाइन र कन्ट्याक्ट ट्रेसिङ सुरु गरेको थियो। चीनमा महामारीको चरम अवस्था देखिँदा भियतनाममा ४२० जना संक्रमित फेला परेका थिए, तर कोही संक्रमितको मृत्यु भएको थिएन।
पछिल्लो १०० दिनयता त्यहाँ नयाँ संक्रमित पनि फेला परेका थिएनन्। पछिल्लो पटक भेटिएका सबै संक्रमित केन्द्रीय तटीय शहर डा नाङ्गका रहेका त्यहाँको सरकारी निकायले जानकारी दिएको छ। डा नाङ्ग शहर भियतनामका आन्तरिक पर्यटकमाझ निकै लोकप्रिय छ।
संक्रमित भेटिएपछि यो शहरमा फेरि भौतिक दुरीको नियम लागु गरिएको छ। १४ दिनसम्म आन्तरिक पर्यटकलाई घुमघाममा प्रतिबन्ध लगाइएको छ। पछिल्लो अवस्थाले पर्यटन क्षेत्रमा निर्भर त्यस क्षेत्रको आर्थिक व्यवस्थामा ठूलो असर परेको छ।
अत्यावश्यक बाहेकका सबै कारोबार बन्द गरिएको छर ३० जनाभन्दा बढी मानिसलाई एकै ठाउँमा एकत्रित हुन रोक लगाइएको बीबीसीमा उल्लेख छ।
लामो समयपछि संक्रमित फेला परेपछि देशभरका अस्पतालहरुले फेरि कोरोनाका बिरामीलाई उपचार गर्न आवश्यक तयारी थालेका छन्। राजधानी हनोईमा मास्क लगाउन आग्रह गरिएको छ। घरेलु फुटबल लिग पनि स्थगित गरिएको छ।
प्रतिक्रिया