मायादेवी अनलाइन, तौलिहवा ।
भारतद्वारा एकतर्फी रुपमा बनाइएको बझाहा बाँधका कारण धान लगाइएको ३ सय बढी बिघा जमिन डुबानमा परेको छ ।
दुई सातादेखि परेको लगातारको वर्षापछि मायादेवी गाउँपालिका ४ स्थित तुलसी डिहवामा गाउँको आसपास रहेको धान खेत डुबानमा परेको हो । खेतमा बढी पानी जमेकाले ५० हेक्टर त बाझै छाडिएको कृषकहरु बताउँछन् । बाँधका कारण भएको डुबानले मायादेवी गाउँपालिका वडा नं. ४ का तुल्सीडिहवा, गौरा, सिसहनिया र सिहोरवा गाउँका धान लगाएका खेत पानीमा डुबेका छन् ।
त्यस्तै यशोधरा गाउँपालिका वडा नं. १ रजवापुर, वडा नं ६ पुन्नीहवा र पकडी गाउँको धान खेत डुबेका छन् । ३ देखि ५ किमि दक्षिणका खेत पानीमा डुबेपछि धान पहेलिएको छ । जता हे¥यो उतै पानी पानी देखिन्छ । पिपराको तुल्सीडहवा गौरामा लगाइएको धान डुबेको छ । अहिले खेतमा ५ फिट बढी पानी रहेको छ । डुबानकै कारण २०–२५ वर्ष यता कृषकले राम्ररी खेतीपाती गर्न पाएका छैनन् ।
भारतीय पक्षले हिउँदमा बाँधको ढोका खोल्ने र वर्षायाममा बन्द गर्ने गरेको र २८ वटा ढोका नखोलिदा खेती डुबानमा परेको कृषकहरु बताउँछन् । वर्षापछि बाँधको ढोका नखोलिदा ३ सय बिघामा लगाईएको धानबाली पानीले डुबेको साविक पिपरा गाविसको तुलसी हिडवाका जगदी यादवले बताए । ‘पानीमा डुबेकोले सप्रदै रहेको धान डुबेको छ,’ उनले दुःखी हुँदै भने, ‘खेतको आली डुबेको छ ।’ केही दिन मै पानीको निकास नगरिए नेपाल तर्फका सयौ कृषकले ठूलो क्षति ब्यहोर्नु पर्ने उनले बताए ।
सरसापट, बैंकबाट ऋण लिएर धान खेती गरेका कृषकहरु धानको दुर्दसा देखेर निकै चिन्तित छन् । ढोका खोल्नका लागि आफूहरुले गेट खोल्ने कर्मचारीलाई रकम र अन्नपात दिनुपर्ने बाध्यता रहेको यादवले सुनाए ।
पुरै धान सखाप हुने अवस्थामा पुगेको छ, तर समस्या समाधानका लागि कसैले पहल गरेको छैन् । ‘तुलसी डिहवाका अर्का कृषक मोबिन अहमदले भने, ‘अब कसरी परिवारको गुजारा चलाउने ।’ सीमा क्षेत्रको भारतीय भू–भागमा पर्ने बजहा बजारमा रहेको बजहा तालको बाधको ढोका बन्द गरिदा यस क्षेत्रमा रहेको ४७ नम्बरको सीमा स्तम्भ समेत पानीमा डुबेको छ । हजार हेक्टर क्षेत्रमा फैलिएको तालको आाधा भाग नेपाल र आधा भारत तर्फ पर्छ । बझाहा तालमा पानी जम्मा गरेर भारतले सिँचाइ गर्ने गरेको छ । तालमा २८ बटा फलामका ढोका राखेर बाध बनाइएको छ । बझाहा क्षेत्रमा भारतले १० किलो मिटर क्षेत्र वरिपरि बाध बनाएको छ ।
सीमा क्षेत्रको उक्त ठाउँ बाँधका कारण वर्षेनी डुबानमा पर्दै आएको छ । धेरै पानी जम्मा गर्न भारतीय पक्षले तालको बाँध वर्षेनी अग्लो बनाउँदै आएको छ । सीमा क्षेत्रको बजहा बाँधले सधैं नेपाली कृषकलाई पीडा दिँदै अएकोले यसको दिर्घकालिन समाधान खोज्नु पर्ने मायादेवी गाउँपालिका प्रमुख बजरंगीप्रसाद चौधरीले बताए । उनले वर्षा र गर्मी तालमा कति पानी राख्ने भनेर प्राबिधिकसंग सल्लाह गरी स्थानीय प्रशासनलाई दिनुपर्ने बताए । पीडितको मागलाई संबोधन गरी स्थानीय प्रशासनले भारतीय समकक्षीसंग कुरा राखेर मौषम अनुसारको समस्या समाधान गर्नुपर्ने उनी बताउँछन् । उनले बाँधका बारेमा संघीय र प्रदेश सरकार तथा प्रशासन कार्यालय हरेक वर्ष स्मरण गराए पनि समस्या समाधान नभएको गुनासो गरे ।
बाँधले भारतीय कृषकलाई फाईदा नेपाली कृषकलाई घाटा
भारतले एकतर्फी रुपमा बनाएको बाँधका कारण भारतीय कृषकलाई फाईदै फाईदा छ भने नेपाली कृषकलाई सधै घाटा छ । आफूलाई पानी चाहिदा बाँधको ढोका खोल्ने गरिएको छ । पानी बढी भए भने ढोका बन्द गर्ने गरिन्छ । भारतको सिद्धार्थनगर जिल्लास्थित चिल्हिया थाना अन्तर्गत बजहामा बाँध बनाएको छ ।
बाँध सीमामै छ । बाँधको उत्तर ठूलो सागर छ । हजार बढी विगाहामा रहेको सागर आधी नेपाल र आधी भारतमा पर्छ । त्यही पानी जम्मा गरेर भारतले सिँचाई गर्छ । विषेश गरि हिउँदलाई लक्षित गरेर पानी जम्मा गरिन्छ । वर्षा र अत्यधिक पानी पर्दा बाँधका ढोकाहरु नखोलिदा पानीले नेपाल तिर डुबान गर्छ । सागरको पश्चिम दक्षिणमा २० र ८ ढोके पक्की बाँध छ । २० ढोके बाँध ५० मिटर लामो छ । ८ ढोके बाँध २० मिटर लामोछ । ५ मिटर चौडा बाटो छ । ३÷४ वर्ष अघि बाँधमाथिबाट एउटा मोटरसाईकल मात्र आवतजावत गर्ने बाटो थियो ।
अहिले विस्तार गरेर ४ चक्के ठूलो सवारीसाधन आवतजावत गर्ने बनाईएको छ । बाँध पनि मर्मत संभार गर्दै नयाँ गरिएको छ । आवतजावतका लागि बाटो भन्दा उचो बनाउँदै लगिएको छ । यसले नेपाल तिर डुबान क्षेत्र बढेको स्थानीय जयबुद्ध यादबले बताए ।
बाँधबाट ३ सय बढी कृषक प्रभावित हुँदै आएका छन् । स्थानीय प्रशासनले दुुई देशको अधिकारी बिच हुने समन्वयात्मक बैठकमा हरेक पल्ट सो बाधहरुले पार्ने समस्याका कुरा उठाए पनि समाधान हुन सकेको छैन ।
प्रजिअ दीर्घनारायण पौडेलले आफूहरुले बझाहा र महलीसागर बाँधको निरीक्षण गरी अनुगमन गरेको बताए । बढी वर्षा भए नेपाल तर्फको खेतहरु डुबानमा पर्ने भए पनि अहिले भने डुबानको समस्या नदेखेको दाबी गरे ।
बढी वर्षा भयो भने सो बाँधले नोपली खेत डुबानमा पार्ने उनले बताए । उता महली सागर मझौली बाँधले पनि नेपालका सयौ बिघा जमिन डुबानमा पर्ने गरेको छ ।
प्रतिक्रिया