८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

कोरोना भाइरस समुदायमा फैलिएको आशंका



काठमाण्डौ ।
देशका विभिन्न ठाउँमा कोरोना भाइरस समुदायमा फैलिएको आशंका गरिएको छ । प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साह सुडीले कोरोना भाइरस समुदायमा फैलिएको जस्तो देखिएको बताउनुभयो भने बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले लकडाउनपछि बाँकेमा समुदाय स्तरमा सङ्क्रमण बढेको बताउनुभयो ।

यस्तै पर्साको विरगञ्जमा समुदायमा कोरोना भाइरस फैलिएको भन्दै निषेधाज्ञा जारी भयो । यसरी लकडाउन अन्त्य भएको घोषणा सँगै विभिन्न ठाउँमा समुदायमा कोरोना देखिएको प्रदेश तथा जिल्ला तहका अधिकारीहरुले नै बताउन थालेका छन् ।

तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम भने सङ्क्रमण फैलिएको संकेत देखिए पनि पुष्टि गर्ने आधार नभएको बताउनुहुन्छ । उहाँले समुदायमा कोरोना फैलिएको वा नफैलिएको एकिन गर्नका लागि थप परीक्षण र अनुसन्धान भैरहेको बताउनुभयो ।

बारा, पर्सा, सप्तरी लगायत प्रदेश २ का विभिन्न जिल्लामा कतै यात्रा नगरेका वा सङ्क्रमितको सम्पर्कमा नगएका व्यक्तिमा पनि सङ्क्रमण देखिएको नारायणी अस्पतालले जनाएको छ । सरकारले काठमाण्डौ उपत्यका सहित विभिन्न ठाउँमा समुदायस्तरमा परीक्षण शुरु गरेको भए पनि अहिले विदेशबाट आएका तथा उनीहरुको सम्पर्कमा रहेकाहरुको परीक्षणलाई प्राथामिकता दिएको छ ।

जनस्वास्थ्य बिद्हरुले भने समुदायमा कोरोना फैलिन थालेको हुन सक्ने भन्दै तत्कालै परीक्षण बढाएर स्थिति पत्ता लगाइ योजना बनाउन आग्रह गरेका छन् । यदि समुदायमा फैलिएमा रोकथाम र उपचारमा कठिनाइ हुने विज्ञहरुले चेतावनी दिएका छन् ।

प्रकाशित मिति : १० श्रावण २०७७ शनिबार ००:००  ४ : ४३ बजे