काठमाडौं ।
सर्वोच्च अदालतको फैसलापछि कैद घटाएर जेलमुक्त गरिएका पूर्व डिआइजी रञ्जन कोइरालासम्बन्धी पुनरवलोकन निवेदनमाथि आइतबार सुनुवाइ हुने भएको छ। कोइरालाको कैद घटाउने गरी सर्वोच्च अदालतले गरेको फैसलामा महान्यायाधिवक्ताको कार्यालयले मुद्दाको पुनरवलोकन गर्न निवेदन दर्ता गरेको थियो।
यस मुद्दाको पेशी कुन न्यायाधीशको बेन्चमा चढ्छ भन्ने आइतबार बिहान मात्रै टुंगो लाग्ने छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीले गरेको फैसलाउपर परेको पुनरवलोकन निवेदनमा अब तीन जना न्यायाधीशहरुबाट सुनुवाइ हुनेछ।
पुनरावलोकनको अनुमति पाएमा यो मुद्दा सर्वोच्च अदालतको तीन वा सोभन्दा बढी न्यायाधीशहरुको इजलासबाट सुनुवाइ हुनेछ। सशस्त्र प्रहरीको डिआइजी पदमै हुँदा उनले २०६८ पुस २७ गते पत्नीको हत्या जस्तो जघन्य अपराध गरेका थिए। काठमाडौंस्थित घरैमा पत्नीको हत्या गरेपछि उनले त्यही राति शवलाई मकवानपुरको एक गाउँमा लगेर जलाएका थिए।
त्यसपछि गीतको शव जलेको नजलेको बुझ्न उनी मकवानपुर पुगेका थिए। त्यही बेला शव जलाइएको स्थानबाटै गाउँलेले उनलाई समातेका थिए। तर त्यहाँबाट उम्किएका उनलाई काठमाडौं फिर्दै गर्दा प्रहरीले पक्राउ गरेको थियो। कोइरालालाई पक्राउ गरी फागुन दोस्रो साता कर्तव्य ज्यान अभियोगमा काठमाडौं जिल्ला अदालतमा मुद्दा चलाइएको थियो।
प्रतिक्रिया