८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

प्रधानमन्त्रीलाई कोरोना अस्पतालको चिट्ठी



सम्माननिय प्रधानमन्त्री ज्यू,
नमस्कार
विश्वभर (कोभिड-१९) ले आतंक मच्चाइरहेको छ, यसबाट हाम्रो देश पनि अछुतो रहन सकेन । तपाईं पनि जनता कसरी बचाउने भनेर चिन्तित हुनुहुन्छ होला लागेको छ तर तपाईं भन्दा बढी चिन्ताले म पिरोलिएको छु ।

सम्माननिय प्र म जू ,
जब तपाईंले मलाई कोरोना अस्पताल भनेर नाम दिनु भयो तब म सेवामा कमि नराख्ने गरि खुसी थिएँ र आफुलाई धन्य सम्झिरहेको थिएँ । नेपाली जनतालाई मेरो सेवाको उत्साहले बचाउन सक्छु भन्ने लागेको थियो, त्यति मात्रै होइन, म कोरोना अस्पताल साँच्चिकै सुविधा सम्पन्न अस्पताल जस्तै बन्छु लागेको थियो । तर आज ३३०० बढी कोरोना संक्रमित पुग्दा पनि म अस्पताल बन्न सकिन । छाउगोठ पनि अस्पताल बनेर, उल्टै मलाई नै गिज्याइरहेछ ।

प्रम ज्यू,

जब मलाई मान्छेहरूले अस्पताल भनेर पुकार्छन् ,लाजले मुख छोप्छु । संक्रमितहरु जब मलाई देवल सम्झन्छन् र पुजा गर्छन्, विश्वास गर्छन्, भरोसा राख्छन् तब मलाई शिर झुकाउन मन लाग्छ, बिरामीलाई ढाँट्नु परेकोमा आत्मग्लानि हुन्छ, मुटु दुख्छ, लाग्छ कि म आफै एक गरीब कोरोना संक्रमित हुँ जसले भोकको अचार बनाइ शोकसँग मिसाएर भोक मेटाउनु पर्छ, सन्तानको चित्कारलाई संगित सम्झेर निदाउनु पर्छ ।

म सँग नऔसधि छ, न औजार छन्, न सुरक्षा सामग्री छन्, अपवाद बाहेक न भगवान्का दूत छन् जसले बिरामीको सेवालाई धर्म सम्झन्छन् ।

तपाईंका सत्ता सहयोगीहरु जति पैसाका भोगिछन् त्यति नै भोगि रहेछन् भगवान्का दूतहरु पनि । अचम्म लाग्छ, बिरामी म कहाँ आउन मान्दैनन् तपाईं थर्काउनु हुन्छ, उखानले छेँडखान गर्नुहुन्छ, तपाईंको सेटाएरले तर्सने भए कोरोना अहिलेसम्म यो देशमा टिक्ने थिएन । स्वास्थ्यका हिसाबले जुन कम विस्वासीलो छ त्यही टेस्ट गर्न लालायित छन्, संघ, प्रदेश र स्थानीय तहहरु, बुझिनसक्नुछ यो पनि । यत्रो दिनको बन्दाबन्दी जनताले पूरा पालना गरे तर सरकारले के गर्यो, नसोध्नु नै बेस हुन्छ । समुदायमा संक्रमणको शुरुआतले अब पशुपतिनाथको भरोसा गर्नु बाहेक जनताको निम्ति अर्को उपाए छैन ।

म आफै यति निरीह बनेँ कि म कहाँ बिरामी नआउन् लाग्छ किनकि बिरामीको सेवामा आवश्यक सामाग्री छैनन् । ल्याबमा परीक्षणको निम्ति संकलित नमुना हप्तौं भए परीक्षण गर्न नसकेर पेन्डिङ छन् । मेरो आर डि टि परीक्षणले कोरोना छैन भनेर घर पठाएको मान्छे बाटोमै मरेपछि, पुन परीक्षणले कोरोना पोजेटिभ देखाउँछ, अब भन्नुस् विस्वस्नियता कसरी छ भनुँ, आर डि टि नेगेटिभ भनेर गाउँ पठाएकाले गाउँ नै संक्रमित बनाएको दैलेखको घटना सुनिनसक्नु छ।सुनेको थिएँ केही दिन पहिले “मान्छे मरेपछि सुनको बाकसमा राखेर हुन्न,पहिले जीवन बाँच्नु पर्छ “भन्नुभएको थियोे रे, यो सुनेपछि खुसी लागेको थियोे, अब म पनि बिरामी राख्ने हैसियतमा पुग्छु, अस्पताल भन्नलाई आवश्यक पर्ने सबै कुरा ब्यबस्थापन गर्छ सरकारले तर विश्वास, विश्वासको निम्ति मात्रै भयो । यत्रो समय भो खै त मेसिन, कीट, ल्याब र जनशक्तिको ब्यबस्था ? के तपाईं आफू र आफ्ना सहयोगीका कामबाट सन्तुष्ट हुनुहुन्छ ? स्वास्थ्यमन्त्री स्वस्थ हुनुहुन्छ कि अस्वस्थ ? कोरोना संक्रमणमा तपाईंका काम प्रभावकारी किन हुन सकेनन् ? जनताको आवाज किन सुनुवाइ हुँदैन ? म यो पत्र मार्फत कोरोना अस्पतालको सुन्दर ब्यबस्थापनको जोडदार माग गर्दछु । तपाईं कवि तथा गितकार पनि भएको नाताले जनताको भाषामा लेखिएको यो पत्र बुझ्न नसके यो कविता पढ्नु हुनेछ र कोरोना अस्पतालको समस्या पक्कै बुझ्नुहुनेछ भनी निवेदन गर्दछुः

औषधि छैन औजार छैन छाउगोठ जस्तो छु
सेवक उस्तै नहुने भन्न कामले त्रस्त छु ।
आँखाको डिल आँसुको छाल बताउ के गरि
कोरोना आयो अस्पताल नाम दियौ खै कसरी ।।

विरामी आइ जोडेर हात बचाउँ भन्दछ
सुविधा बिना प्राण बच्नु तअप्ठ्यारो बन्दछ ।
अस्पतालभनी के भन्छौ प्रम सुविधा के छ र
कता छन् कीट मन्त्रीको गोजी हेर्न के छुट्छ र ।।
अन्तमा संसारका अस्पतालको इज्जत राख्न नै भए पनि, बन्दाबन्दिको कारण तपाईंहरु जस्तै कसैलाई कोरोना लागि हाल्यो भने म जस्तै अस्पतालमा उपचारमा जानुपर्ने बाध्यता बुझेर भए पनि जनताको उपचार हुने म जस्ता कोरोना अस्पतालको सुविधा बढाउनुस्, बिरामीको न्युनतम सेवा पनि गर्न नसक्ने अपाङ्ग अस्पताल बनाएर, हामीलाई मन दुखाइ दुखाइ मर्न बाध्य नपार्नुस्, अर्थपूर्ण कदम उठाउनुस् । ल्यावको संख्या थप्नुस्, अझ अहिले हात थापेर पाएका कीट देखेर नरमाउनुस्, आवश्यक कीट किनेर पि सि आर परीक्षण गरेर नेगेटिभ रिजल्ट आएपछि मात्रै घर पठाउनुस् । जनता रहे विकास फेरि पनि हुनेछ । अहिलेसम्मकै स्थितिलाई हेर्ने हो भने जनतालाई सजाय दिनको निम्ति कोरोना पोजिटिभहरुलाई गाउँ गाउँमा पठाएर जनता तर्साएर कुर्सीमा बस्दा कस्तो अनुभव गर्नुभएको छ ? कि यो कुराको जानकारी नै छैन ? जनता बनेर सोँच्नुस्, अभिभावक बन्ने हिम्मत राख्नुस् ।
उही तपाईंको
कोरोना अस्पताल नेपाल

प्रकाशित मिति : २६ जेष्ठ २०७७ सोमबार ००:००  ८ : ३४ बजे