८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

कविताः मेरो प्रेम कहानी



देवेन्द्र पौडेल ।
म तिम्रो पशुपति, तिमी मेरी दिलकुमारी (दिल्ली)

तिम्रो दिलमा सधैँ खडेरी पथ्र्यो
अग्रजदाजुहरुले गण्डक दिएर भिजाए
कोशीदिएर रिझाए
मेरो पनि जवानीमा तिमीसँग माया बस्यो
आज तिम्रो मायाले डस्नुसम्म डस्यो
दिलकुमारी, तिम्रो माया त कस्तो कस्तो
न प्रेमीको जस्तो, न प्रेमिकाको जस्तो

०००

म त समर्पणमा विश्वासगर्ने मान्छे
म त विश्वासमा प्रेम गर्ने मान्छे
सधैँ तिम्रो भलो चिताएँ
तिम्रा लागि आमाको जवानी रित्ताएँ
तिमीले दिनु नदिनुसँग मलाई सरोकारै छैन
मैले त टनकपुर उपहार दिएकै हो
देशवासीबाट विरोधको उपहार लिएकै हो
जनतालाई म त राष्ट्रवादी भन्दै ढाँटेकै हो
अहिलेसम्म सुख र खुसीको जिन्दगी बाँचेकै हो ।

०००

तिम्रो र मेरो प्रेम कहानी
तिम्रो र मेरो पानी र जवानी
आज लिम्पियाधुरामा दुर्घटित भएको छ
लिपु र कालापानी तिम्रो आँगन भएको छ
दुनियाँले चाल पाउँदा पनि हेर
मैले थाहै नपाए जस्तो गरेकै हो
तिमी लेक चढ्दा म बेँसी झरेकै हो
मलाई त घरकाले बस्नै खानै दिएनन् हेर
अहिले अलिअलि अघि सरेकै हो
तिमीले चिथोरेको चुच्चे मेरो नाक
आज नक्सा बनाएर छापेकै हो
यति काम गर्न पनि म
आज बढ्तै कापेकै हो ।

०००

यसपालि मेरो नाक जोगाइ देऊ
कुनै बेला राम्रो कोसेली लिएर आउँला
पशुपतिका गीत गाउँदै मज्जाले नाचौँला
अहिले सम्मानमा केही खस्किएको छु
तिम्रो प्रेम कडा रैछ, त्यसैले झस्किएको छु
तिमी पनि कहरमा छौ, म पनि कहरमा छु
तिम्रो कहर के हुँदैछ, थाहा छैन
म त एमसिसिको रहरमा छु
भै गो त्यो त मेरो जवानीको कुरा थियो
इतिहासको कहानीको कुरा थियो ।

०००

आजभोलि त मेरो नरमतिर मन गएको छ
चिलकुमारी (चाइना) सँग माया पिरती गाँसौँ भएको छ
दुँनियालाई घरमा सुताएको छु
सडकमा निस्कनेलाई कुटाएको छु
गाउँहुनेहरु गाउँ गइसके
मान्छेहरु ठाउँका ठाउँ भइसके
भोका पेट चेट, अर्बौँको सेट र आरडिटीसँगको भेट
मलाई असाध्यै फाप्लाजस्तो छ
मेरो मनको कुरा थाम्लाजस्तै छ
आऊ प्रिय आरडिटी
सयौँ, हजारौँ र लाखौँ भएर आऊ
छमछमी नाँचेर आऊ
बोल्नेका ढाड भाँचेर आऊ
जिउँदालाई छल गर
सास गएपछि पिसीआरले हल गरौँला
आफ्नाको गोजी भरौँला
बोल्नेका मुखमा अलि अलि कनिका छरौँला
भर्खर एल्बम निस्केको छ
गीत गाउँदै टारतिर रमाइलो गरौँला ।

प्रकाशित मिति : २६ जेष्ठ २०७७ सोमबार ००:००  ८ : २६ बजे