दिपक अनुरागी, कपिलवस्तु (कृष्णनगर) ।
सहकर्मीलाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएपछि कपिलवस्तु कृष्णनगरका सुरक्षाकर्मी त्रसित बनेका छन् । बुधबार साँझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजजिक गरेको रिपोर्ट मध्ये कृष्णनगरका चार जना सुरक्षाकर्मीमा कोरोना पोजेटिभ देखिएको थियो ।
कोरोना देखिएको दुई दिन वितिसक्दा पनि कृष्णनगर क्षेत्रमा कार्यरत अरु सुरक्षाकर्मीको पिसीआर टेष्ट अझै हुन सकेको छैन् । सुरक्षाकर्मी प्राय समूहमा बस्ने, समूहमा खाने गर्छन् । अहिलेको स्थितिमा कृष्णनगरमा कार्यरत सबै सुरक्षाकर्मीको तत्काल स्वाव संकलन अनिवार्य छ । तर, अहिलेसम्म आधिकारिक निकाय त्यहाँ पुग्न सकेको छैन् ।
चार संक्रमित मध्ये नेपाल प्रहरीका दुई जना, सशस्त्र प्रहरीका एक जना र राष्ट्रिय अनुसन्धानका एक जना रहेका छन् ।
नेपाल प्रहरीका दुई जना मध्ये एक जना प्रहरी नायव निरिक्षक (सई) र एक जना हवल्दार हुन् । यी दुवै जना कोरोना संक्रमणको रिपोर्ट सार्वजनिक नहुँदासम्म डियुटीमै तल्लिन थिए ।
हवल्दार मध्येका एकले प्रहरीलाई बोक्दै गाडी हुँइकाई रहन्थे भने, सई आफ्ना जुनियर सुरक्षाकर्मीसंगै काममा खटिन्थे साथै सिनियर प्रहरी अधिकृतसंग सुरक्षा रणनितिको विषयमा दैनिक छलफलमा व्यस्त हुन्थे ।
जब यी दुई सुरक्षाकर्मीमा कोरोना संक्रमणको पुष्टि भयो, तब देखि सुरक्षाकर्मीमा त्रास एकाएक बढ्योँ । ‘संगसंगै खाने, संगसंगै बस्ने सहकर्मीलाई नै कोरोना देखिएपछि हामी छाँगाबाट खसे झै भयौं, एक जना प्रहरी अधिकृतले मायादेवी अनलाइनसंग भने, ‘कोरोना संक्रमण र यसको फैलावटको दर हेर्ने हो भने अब हामी गम्भीर खतरामा छौं जस्तो लाग्छ ।’
संक्रमित प्रहरी हवल्दारकी श्रीमती पनि प्रहरीनै हुन् । उनीपनि श्रीमानसंगै काममा छिन् । कृष्णनगरको एक घरमा दुवै जना संगसंगै बस्ने गरेका थिए । श्रीमानलाई कोरोना देखिए पनि उनी अहिले डियुटीमै तल्लिन छिन् । नागरिकको सुरक्षामा अहोरात्र खटिइएकी छिन् ।
उनले यो बेला निभाएको जिम्मेवारीको प्रसंसा गर्ने कुनै शब्द नभए पनि सहपाठीलाई भने ठूलो भय छ । ‘श्रीमान कोरोना संक्रमित छन् । श्रीमती हामीसंगै डियुटीमा छिन् । उनलाई क्वारेनटाइनमा राख्न कसैले पहल गरेको छैन्, हाम्रो पिसीआर टेष्ट गरिएको छैन ती प्रहरी अधिकृतले चिन्तित मुद्रामा भने, ‘हामी उच्च जोखिममा छौं, हाम्रो चिन्ता गर्ने कोहिँ भएन् ।’
इलाका प्रहरी कार्यालय कृष्णनगरमा झण्डै ७० जना प्रहरी कार्यरत छन् । संक्रमित देखिएका प्रहरी विशेष गरी सिमा रक्षार्थ खट्ने गरेका थिए । आफ्नो डियुटी समयमा सिमाको रक्षा गर्ने, प्रहरीको मेसमै खाना खाने, कुनै स्थानमा समस्या भए तत्काल पुगेर बुज्ने प्रहरीलाई कोरोना देखिएपछि यसको संक्रमण कति जनालाई भयो भन्न सक्ने स्थिति नै छैन् ।
यो बेला प्रहरी सबैलाई क्वारेनटाइनमा राख्न सक्ने सम्भव देखिन्न भने पिसीआर टेष्टमा कसैको चासो गएको पनि छैन्, यसले स्थिति थप जटिलतामा परिणत हुने भय धेरैमा छ ।
उता सशस्त्र प्रहरीलाई पनि कोरोनाको उस्तै डर छ । सशस्त्र प्रहरी नम्बर ३९ गुल्म मातहत १ सय ७४ जना कार्यरत छन् । यी मध्येका एक अधिकृत स्तरका सईमा कोराना देखिएको छ । उनीपनि दैनिक काममा खटिन्थे भने अरु सहकर्मीसंग घुलमिल भइरहन्थे ।
सामुहिकतामा आधारित रहेर काम गर्ने सशस्त्र प्रहरीलाई पनि कोरोनाको त्रास उस्तै छ । ‘हाम्रो सई साबलाई कोरोना देखियो । हामी अहिले त्रासमा छौं, एक जना सशस्त्र प्रहरी जवानले मायादेवीसंग भने, ‘हाम्रो कोरोना जाँच नै भएको छैन्, अब बाँचिने हो या मरिने हो निकै डर लागेको छ, यस्तो डर त गोलाबारी चलेको फिल्डमा हुँदा पनि लाग्दैनथ्यो ।’
कसरी देखियो सुरक्षाकर्मीलाई कोरोना ?
सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई कसरी कोरोना देखियो सबैमा कौतुलहताको विषय छ । सर्वसाधारणमा कोरोना देखिएपनि पिसीआर जाँच कमै मात्रामा भैरहेको बेला सुरक्षाकर्मीमा जाँच कसरी गरियो भन्ने कौतुलहताको विषय बनेको हो । तर, सुरक्षाकर्मीले पिसीआर जाँच मौका छोपेर गरेको पाइएको छ । कृष्णनगरको एक क्वारेनटाइनमा भैरहेको जाँचको बेला कोरोनाको शंका लागेर ८ सुरक्षाकर्मीले संगै परिक्षण गराएका थिए । जसमध्ये ४ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
सुरक्षाकर्मीको मागः ‘हाम्रो पिसिआर टेष्ट तत्काल होस’
नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मीले तत्काल थ्रोट स्वाब टेष्ट (पिसीआर) गराउन माग गरेका छन् । मनमा आतङ्क पालेर काम गर्न नसकिने भन्दै पिसीआर टेष्ट गराएर मोरेको आत्मबललाई ब्यूताउँन उनीको माग छ । ‘सहकर्मीलाई कोरोना देखियो । यो रोग कस्तो प्रकारको हो विश्व बुजिसकेका छौं, हामी कठिन घडीमा छौं, एक जना सुरक्षाकर्मीले भने, ‘तत्काल पिसीआर टेष्ट गरियोस ।’
कोरोना संक्रमण देखिएको क्षेत्रमा तत्काल सिल गरी कन्ट्याक्क टे«सिङको काम गर्नुपर्ने विहीबार विहान यो समाचार तयार पार्दासम्म हुन सकेको छैन् ।
कपिलवस्तुका प्रहरी नायव उपरिक्षक तथा प्रवक्ता सुनिल मल्लले पिसीआर टेष्ट तत्काल गर्नुपर्ने देखिएपनि अहिलेसम्म प्रक्रियामै रहेको बताउनुभयो । कोरोना देखिएपनि कृष्णनगरका सुरक्षाकर्मीको पिसीआर टेष्ट किन हुन सकेन भन्ने प्रश्नमा प्रहरी नायव उपरिक्षक मल्लले भन्नुभयो, ‘पिसीआर टेष्ट हामीले गर्ने हो र ? यो त स्वास्थ्यकर्मीले गर्ने हो ?’ यो विषय केन्द्रित प्रश्न सोध्दा आक्रोसित मुद्रामा देखिनुभएका मल्लले टेष्टको समय घर्किसकेको र सुरक्षाकर्मी असुरक्षित रहेको बताउनुभयो । उहाँको आशय पिसीआर टेष्ट ढिला भएको र स्थिति राम्रो नदेखिएको संकेत दिन्थ्यो ।
प्रतिक्रिया