मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुमा पछिल्लो समय क्वारेनटाइनमा बस्नेहरुको संख्यामा बृद्धि भएको छ । एक साताभन्दा अगाडीसम्म क्वारेनटाइनमा बस्नेहरुको संख्या ह्वात्तै घटिरहेका बेला एका–एक संख्या बढेको हो ।
जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले शनिबार उपलब्ध गराएको तथ्याङ्क अनुसार ३ सय ४२ जना क्वारेनटाइनमा रहेका छन् । जिल्लाका १० स्थानीय तहले बनाएका क्वारेनटाइनमा यी सर्वसाधारण बसेका हुन् ।
क्वारेनटाइनमा बस्नेहरुमा सबैभन्दा बढी शिवराज नगरपालिकामा १ सय १३ जना रहेका छन् । जुन अरु स्थानीय तहको भन्दा सबैभन्दा बढी हो । यस्तै विजयनगर गाउँपालिकामा ९६, महाराजगञ्ज नगरपालिकामा ४८, बुद्धभूमि नगरपालिकामा २४, यशोधरा गाउँपालिकामा १९, कपिलवस्तु नगरपालिकामा १५, कृष्णनगर नगरपालिकामा १४ जना रहेका छन् ।
यसैगरी मायादेवी गाउँपालिकामा ५, शुद्धोधन गाउँपालिकामा ४ र वाणगंगा नगरपालिकामा ४ जना क्वारेनटाइनमा रहेका छन् । यी स्थानीय तहमध्ये कृष्णनगर, महाराजगञ्ज नगरपालिका, यशोधरा, मायादेवी र शुद्धोधन गाउँपालिका भारतीय सिमावर्ती क्षेत्रका हुन् ।
खुल्ला सिमा नाकाका कारण लुकिछिपी भारतबाट आउनेहरु बढेपछि क्वारेनटाइनमा बसोबास गर्नेहरु बढेको सम्बन्धित स्थानीय तहले जनाएका छन् ।
यता क्वारेनटाइनमा बसोबास गर्नेहरुको कोरोना द्रुत परिक्षण जारी रहेको छ । अहिलेसम्म १ हजार ३६ जनाको द्रुत परिक्षण गरिएको छ । जसमध्ये कसैमा पनि कोरोना देखिएको छैन् । शनिबारमात्र १८ जनाको परिक्षण भएको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका प्रशासकीय अधिकृत मनोज कुमार शैनीले जानकारी दिनुभयो ।
उता जिल्लाका विभिन्न स्थानमा गरि ३२ जनाको पिसिआर विधिबाट कोरोनाको परिक्षण गरिएको छ । द्रुत परिक्षणमा शंका लागेकाहरुलाई पिसिआर विधिबाट परिक्षण गरिएको हो ।
प्रतिक्रिया