८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

कपिलवस्तु जेसिजद्धारा आधा लाख बढीका स्वास्थ्य सामग्री सञ्चारकर्मी र सुरक्षाकर्मीलाई प्रदान



मायादेवी अनलाइन, चारनम्बर ।
नोबेल कोरोना भाइरस (कोभिड–१९)को संक्रमण नियन्त्रणका लागि विभिन्न सामाजिक कार्य गर्दै आएको कपिलवस्तु जेसिजले जिल्लाका सञ्चारकर्मी, राष्ट्रसेवक सुरक्षाकर्मी लगायतलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । कोरोनाको जोखिम न्यूनिकरणमा सरकारले गरेको लकडाउन अवधिभर ‘घर घरमा डाक्टर अभियान’ सञ्चालन गरेर सबैको मन जितेको कपिलवस्तु जेसिजले पछिल्लो समय स्वास्थ्य सामग्री वितरणमा लागेको छ ।

कोरोना जोखिम नियन्त्रणमा अहोरात्र खट्ने सुरक्षाकर्मी र दैनिक सुचना सम्प्रेषणमा खटिने सञ्चारकर्मीका लागि स्वास्थ्य सामग्री वितरण गरेको कपिलवस्तु जेसिज बर्ष २०२० का अध्यक्ष मनोज कुमार खत्रीले जानकारी दिनुभयो । लकडाउनको अवस्थामा प्रयाप्त स्वास्थ्य सामग्री नपाइनु र दैनिक फिल्डमा खटिने सुरक्षाकर्मी र सञ्चारकर्मीलाई कोरोनाको जोखिम बढी हुने भएकाले सामग्री वितरण गरिएको अध्यक्ष खत्रीले मायादेवी अनलाइनलाई बताउँनुभयो ।

केहिँ दिन पहिला जिल्लाका सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री वितरण गरिसकेको र शनिबारसम्म सबै सञ्चारकर्मीलाई पनि स्वास्थ्य सामग्री वितरण गरिसकेको उहाँले बताउनुभयो ।

जिल्लाको इलाका प्रहरी कार्यालय पिपरा, वडा प्रहरी कार्यालय तौलिहवा, शसस्त्र प्रहरी विट पिपरा, शसस्त्र प्रहरी कार्यालय चन्द्रौटामा बीस हजार बराबरको स्वास्थ्य सामग्री वितरण गरिएको कपिलवस्तु जेसिजका महासचिव प्रविण पौडेलले जानकारी दिनुभयो । यस्तै जिल्लाका २० सञ्चार गृहमा कार्यरत सञ्चारकर्मीलाई ३७ हजार बराबरका स्वास्थ्य सामग्री वितरण गरिएको महासचिव पौडेलले बताउनुभयो ।

१८ बर्षमाथि देखि ४० बर्ष उमेर समूहका युवाहरुको अन्तर्राष्ट्रिय सामाजिक संस्था हो जेसिज । कपिलवस्तु जेसिजको स्थापना भएको दुई दशक वितिसकेको छ । जिल्लाभित्र रहेर लोकप्रिय काम गर्दै आएको कपिलवस्तु जेसिज बर्ष २०२० को नयाँ नेतृत्वले कोरोना संक्रमण रोकथाममा उदाहरणीय काम गर्दै आएको छ । यो विपत्तिको समयमा कपिलवस्तु जेसिजले समाजमा राम्रो काम गरेको पूर्व अध्यक्ष उमानाथ पौडेल बताउनुहुन्छ । गाउँ गाउँ पुगेर चिकित्सकसहितको टोली परिचालन गर्दै नागरिकको स्वास्थ्य चेकजाँच गरेको जेसिजले अहिले सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई निशुल्क स्वास्थ्य सामग्री वितरण गरेको रचनात्मक काम गरेको बताउनुभयो ।

शनिबार रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्ज र मायादेवी अनलाइन डटकमको कार्यालयमा आए जेसिजको टोलीले स्वास्थ्य सामग्री वितरण गरेको थियो । कपिलवस्तु जेसिजले मायादेवी मिडियालाई माक्स, ग्लोब्स, सेनिटाइजर लगायतका स्वास्थ्य सामग्री दिएको थियो । जेसिजको अभियानमा कपिलवस्तु वन पैदावार, साझा हस्पिटल प्राली बुटवल र हथौसा लिटिल स्टार स्कुलले साथ दिएका अध्यक्ष खत्रीले बताउनु भयो । उहाँले सबै सहयोगी संस्थालाई यो विपद्मा सहयोग गरेकोमा धन्यबाद पनि दिनुभएको छ ।

प्रहरीलाई स्वास्थ्य सामग्री वितरण गर्दै कपिलवस्तु जेसिजका अध्यक्ष मनोज कुमार खत्री लगायतका टिम ।
Image may contain: 8 people, including Hari Adhikari, Raj Ct Raj, Gopal Gyawali, विष्णु प्रसाद न्यौपाने, Chandra Kanta Neupane and Prabin Paudel, people standing, shoes and indoor
स्वास्थ्य सामग्री वितरणमा क्रममा रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्जको स्टुडियोमा कपिलवस्तु जेसिजका पूर्व अध्यक्ष, वर्तमान पदाधिकारी तथा जेसिज मनहरु ।।

प्रकाशित मिति : २० बैशाख २०७७ शनिबार ००:००  ५ : ४० बजे