काठमाडौं ।
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयको बैठक बस्दैछ । सचिवालय बैठक साँझ साढे पाँच बजेका लागि तय भएको प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।पार्टीभित्र झाँगिदो विवादका बीच बस्न लागेको बैठकले स्थायी कमिटी बैठक आह्वान गर्ने बुझिएको छ ।
विधानतः तीन–तीन महिनामा बस्नुपर्ने बैठक पुस ६ गतेयता बस्न सकेको छैन । अध्यादेश प्रकरणपछि उत्पन्न विवादलाई लिएर २० जना स्थायी कमिटी सदस्यले बैठकको माग पनि गरेका छन् ।
पार्टी कमिटीका ४० प्रतिशत सदस्यले लिखित रूपमो माग गरेपछि बैठक बस्नुपर्ने बाध्यकारी व्यवस्था पनि छ ।
“आजको सचिवालय बैठकले स्थायी कमिटी बोलाउने सम्भावना छ । पार्टीभित्र देखा परेका समस्या समाधानका लागि अहिलेको विकल्प स्थायी कमिटी बैठक नै हो,” प्रधानमन्त्री केपी शर्मा ओलीनिकट स्रोतले भन्यो ।
बुधबारको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले कोरोनापश्चात् राजीनामा दिने बताउँदै उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्रीमा प्रस्ताव गरेका थिए ।
मौजुदा संविधानमा संघीय संसदको सदस्य नरहेको व्यक्ति प्रधानमन्त्री हुने व्यवस्था नरहेकाले त्यसबारे मूर्त प्रस्ताव आउनुपर्ने सचिवालय सदस्यहरूको भनाइ छ । यसबारे पनि बैठकमा छलफल हुनेछ ।
पार्टीभित्र उत्पन्न भएको समस्यालाई लिएर सचिवालयका नेताहरू परामर्शमा जुटेका छन् । शुक्रबार माधव नेपाल निकट स्थायी कमिटी सदस्यहरू कोटेश्वरमा भेला भएर स्थायी कमिटी बैठक बोलाउमा माग गरेका थिए । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि उपस्थित भएको बैठकमा स्थायी कमिटी बैठक टार्न नहुने र सबै विषय त्यहीँ लगेर छलफल गर्नुपर्ने स्थायी कमिटी सदस्यको जोड थियो ।
प्रधानमन्त्रीमा प्रस्ताव गरिएपछि वामदेव गौतम पनि परामर्शमा जुटेका छन् । बिहीबार र शुक्रबार आफूनिकट नेताहरूसँग परामर्श गरेका गौतम शनिबार बिहान बालुवाटार पुगेका थिए । नेता गौतमले प्रधानमन्त्रीसँग कुराकानी गरेर फर्किएको बालुवाटार स्रोतले जानकारी थियो ।
प्रतिक्रिया