८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

ओलीको ‘प्रधानमन्त्री’ पद र वामदेवको ‘भाग्य’को फैसला होला आज ? साँझ सचिवालय वैठक



काठमाण्डौँ ।
नेपाल कम्युनिष्ट पार्टीको सचिवालय वैठक आज बस्दै छ । आज साँझ ५ बस्ने सचिवालय वैठकले के निर्णय गर्छ भन्ने सबैलाई चासो छ । यद्यपी एक नेताले मायादेवी आनलाइनसंग आजको वैठक निर्णायक हुने बताउनु भयो । आजको वैठकले ओलीको प्रधानमन्त्री पद र बामदेव गौतमको भाग्यको फैसला गर्न सक्ने पनि ती नेताले बताए । आजको वैठकलाई कसरी फेस गर्ने भनेर ओली र दाहाल-नेपालले आआफ्नो रणनीति पनि बनाइरहेका छन् ।

आज हुने सचिवालय बैठकका लागि रणनीति तय गर्न कोटेश्वरस्थित नेपाल निवासमा शुक्रबार भएको छलफल भएको थियो । प्रधानमन्त्री ओलीले बुधबारको सचिवालय बैठकमा कोरोना महामारी सकिएपछि उपाध्यक्ष गौतमलाई प्रधानमन्त्री र नेपाललाई पार्टीको तेस्रो अध्यक्ष बनाउने प्रस्ताव ल्याएकोमा ओली यो विषयमा कसरी प्रस्तुत हुन्छन् भन्ने कुराको प्रतिक्षामा प्रचण्ड–नेपाल पक्ष रहेका बुझिएको छ ।

वामदेवलाई प्रधानमन्त्री बनाउने निर्णय गर्न आलटाल गरे सचिवालयको बहुमतले प्रधानमन्त्री ओलीसँग राजीनामा माग्ने र स्थायी समिति बैठक बोलाउने निर्णय गर्ने प्रचण्ड-नेपाल खेमाको तयारी पनि छ। ओली भने पेलेरै जाने दाउमा रहेको बताइएको छ ।

कुनै ठोस निर्णय भयो भने वैशाख २० गते नेपाली राजनीतिक इतिहासमा फेरि एकपटक महत्वपूर्ण मितिका रूपमा दर्ज हुनेछ। यसअघि २०३७ वैशाख २० गते देशमा नागरिकले सुधारिएको पञ्चायत कि बहुदलीय व्यवस्था रोज्ने भनेर जनमत संग्रह भएको थियो। त्यो बेला झेली गरेर पञ्चायतलाई जिताएको आरोप छ।

शनिबारै कुनै निर्णय हुन्छ वा हुन्न, त्यो वामदेवमा धेरै भर पर्नेछ। ओलीले आफ्नो राजीनामा र वामदेवलाई प्रधानमन्त्री बनाउने प्रस्ताव लिखित रूपमा पास गर्न माने भने कुनै झमेला हुन्न। आलटाल गरे र वामदेवलाई कुनै बहानामा फकाउन सफल भए भने निर्णय एकदुई दिन लम्बिन सक्छ। धेरैले ओली र प्रचण्ड-नेपाल दुई पक्षबीचको झगडाबाट फुत्त निस्किएर उनी प्रधानमन्त्री बने भने कस्तो प्रधानमन्त्री बन्लान्? वा, उनी जो हुन् र उनको विगत जे हो, त्यसले उनलाई प्रधानमन्त्री नै बन्न दिने छैन कि भन्ने विषयमा पनि धेरै अड्कल बाजी चलिरहेको छ ।

नेपाल दाहाल बैठकमा सहभागी एक नेताले ‘ओलीको चाहना वामदेवलाई प्रधानमन्त्री बनाउने नै हो भने आजको बैठकमा राजीनामा दिनुपर्छ, अनि वामदेवलाई प्रधानमन्त्री बनाउने प्रस्ताव स्थायी समितिमा ल्याउनुपर्छ।’ आज साँझ बस्ने सचिवालय बैठकमा स्थायी समिति बैठक डाक्नुपर्ने एजेन्डालाई आफूहरूले प्रमुख रूपमा उठाउने समिति सदस्य युवराज ज्ञवालीले बताउनु भयो । धेरैले आजको वैठकले ओलीको प्रधानमन्त्री पद के हुन्छ भनेर चासो पनि राखेका छन् ।

प्रकाशित मिति : २० बैशाख २०७७ शनिबार ००:००  ९ : ४० बजे