८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

लक डाउन खुकुलो पार्ने अवस्था छैनः सरकारका प्रवक्ता खतिवडा



काठमाण्डौँ ।
अर्थमन्त्री डा युवराज खतिवडाले विश्वव्यापी महामारीको कारणले आवागमन बन्द हुँदा परेको प्रभावको लेखाजोखा गरिरहेको बताउनुभएको छ । उहाँले वित्तीय क्षेत्रमा यसको प्रभाव कस्तो हुन्छ भन्ने अध्ययन पनि हुनुपर्ने बताउनुभयो । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था आइक्यानले गरेको भिडियो कन्फरेन्समा उहाँले लकडाउनको पूर्ण पालना गराउने र आर्थिक गतिविधि सामान्य पार्ने कुरा संभव नहुने बताउनुभयो ।

सरकारका प्रवक्तासमेत रहनु भएका खतिवडाले ‘अहिले लकडाउन खुकुलो पार्न सक्ने अवस्था छैन, यस्तो अवस्थामा आर्थिक कृयाकलाप चलायमान बनाउने काम भएको छ’, उहाँले भन्नुभयो । उहाँले कोरोना संक्रमितको संख्या पछिल्लो समय बढ्दै गएकाले लक डाउन खुकुलो पार्ने अवस्था नरहेको बताउँदै सचेत रहनु पर्ने बताउनु भयो । सरकारले पछिल्लोपटक लक डाउन वैशाख २५ गतेसम्म थपेको थियो ।

मन्त्री खतिवडाले जोखिमको मूल्यांकन गर्दै कदम चाल्ने पनि उल्लेख गर्नुभयो । मन्त्री खतिवडाले बैंकहरुले पैसा छापेर नबाँड्ने भन्दै बैंकहरुको पनि निक्षेपमाथिको लागत हुने विषय सबैले बुझ्नुपर्ने बताउनुभयो ।

छलफलमा नेपाल राष्ट्र बैंकक गभर्नर महाप्रसाद अधिकारीले वित्तीय क्षेत्रलाई परेको समस्याका विषयमा केन्द्रीय बैंकले हेरिरहेको बताउनुभयो । उहाँले व्यवसाय बन्द हुँदा लकडाउन लम्बिँदै गए यसको असर जटिल हुने र अर्थतन्त्रको खम्बाको रूपमा रहेको रेमिट्यान्स बन्द हुन सक्ने उल्लेख गर्नुभयो । उता कोरोनाभाइरस न्युनीकरणका लागि गरिएको लकडाउन भारतले थप दुईहप्ता बढाएको छ । भारतमा अब मे १७ सम्म लकडाउन हुने छ । त्यहाँको गृह मन्त्रालयले यस्तो जानकारी गराएको हो ।

प्रकाशित मिति : २० बैशाख २०७७ शनिबार ००:००  ६ : ०९ बजे