मायादेवी अनलाइन, चारनम्बर ।
हरेक वर्ष अन्तर्राष्ट्रिय मजदुर दिवसका दिन विश्वभर श्रमिकको अधिकारका लागि विभिन्न र्याली र औपचारिक कार्यक्रमहरु गरेर मनाइन्थ्यो । तर, यस वर्ष भने नोभेल कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि जारी गरिएको लकडाउनका कारण अन्तर्राष्ट्रिय श्रमिक दिवसमा खासै औपचारिक कार्यक्रमहरु भएनन् ।
केही मुलुकहरुमा निकालिएका सीमित र्यालीहरु पनि सामाजिक दूरी कायम गर्दै आयोजना गरिएका थिए भने नेपालमा कुनै कार्यक्रम भएनन् ।
यसैबीच विगतका बर्षहरुमा श्रमिक दिवसको अवसरमा बिभिन्न कार्यक्रम आयोजना हुने कपिलवस्तुमा यो वर्ष कुनै पनि कार्यक्रम भएनन् । जिल्लामा बिभिन्न पार्टीका ट्रेड युनियनहरुले आजको दिनमा बिभिन्न कार्यक्रम गर्ने गर्दथे भने बिभिन्न संघसंस्थाले पनि बिभिन्न औपचारिक कार्यक्रम गर्दथे । तर, यस बर्ष लामो लक डाउन भएपछि सामाजिक संजालमा बिभिन्न कुराहरु राखेरै उनीहरुले दिवसको शुभकामना दिएका छन् ।
श्रमिक दिवसमा बाणगंगा नगरपालिकाको खोला वगर नजिक रहेका श्रमिक मजदुरहरुको अवस्था कस्तो छ भनी दिनभर मायादेवी अनलाइनले अनुगमन गरेको छ । अनुगमनका क्रममा उनीहरुमा कुनै उत्साह देखिएन । आजको दिन पनि केही मजदुरहरु गिट्टी कुट्नमै व्यस्त थिए ।
लक डाउनका कारण विहान साँझ छाक टार्न मुस्किल भए पछि बाँच्न त पर्यो भन्दै बाणगंगा ८ पुलचोक नजिकै एक महिलाले गिट्टी कुटिरहनु भएको थियो । उहाँलाई आज मजदुर दिवस हो कि होइन केही थाहा रहेनछ । हामीले मजदुर दिवस हो नि भनेर सोध्दा उहाँले आफूलाई केही पनि थाहा नभएको बताउनु भयो । ४० बर्षीय ती महिलाले लक डाउनको कारण आफ्नो गास नै खोसिएको बताउनु भयो ।
त्यही घरको परपट्टी शुकैया थारु आँगनमा गिट्टी कुट्दै हुनुन्थ्यो । उहाँका छोराछोरी खेल्दै थिए । उहाँले मजदुर दिवस भए पनि आफूहरुको अधिकारको लागि बोल्ने कोही पनि नभएको भन्दै दुखेसो पोख्नु भयो । उहाँले मजदुर र श्रमिकलाई प्रयोग गरी नेताले चुनाव जितेपछि आफ्नो घरमा कहिल्यै नछिरेको भन्दै आक्रोश पनि पोख्नु भएको छ ।
सुकैयाजस्तै अरु धेरै श्रमिकहरु कपिलवस्तुका अन्य ९ पालिकाका बिभिन्न खोला बगर, इटाभट्टा लगायतमा अहिले पनि काम गरिरहेका छन् । श्रमिकले ८ घण्टा काम, ८ घण्टा आराम गर्न पाउनु पर्ने विश्वबयापी मान्यता रहे पनि नेपालमा सो अनुसार हुन सकेको छैन भने कपिलवस्तुको अवस्था झनै कहालीलाग्दो छ ।
उनीहरुले तोकिएभन्दा बढी समय काम गर्न बाध्य छन् भने परिश्रम अनुसार ज्याला पाउन सकेका छैनन् । लक डाउनका कारण स–साना बालबालिकाहरुले होटल र रेष्टुरेन्टहरुमा १ महिना अघिदेखि काम गर्नु परेको छैन भने बिभिन्न निर्माण कार्य भने धमाधम भइरहेका छन् ।
यस्तै घर, भवल, पुल, पुलेसा बनाउने क्रममा पनि श्रमिकले जोखिम मोल्नु परिरहेको छ । कति मजदुरले त सुरक्षा सामग्री नपाई काम गर्दा ठुलाठुला महलबाट खसेर अकालमै ज्यान गुमाउनु परेको छ ।
प्रतिक्रिया