८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

कोरोना संक्रमित भेटिएपछि रुपन्देहीको पुर्निहवा गाउँलाई सिल गरियो



भैरहवा ।
कोरोना संक्रमण पुष्टि भएपछि रुपन्देहीको पुर्निहवा गाउँलाई सिल गरिएको छ । कोटहीमाई गाउँपालिकाको मझगावास्थित श्री मर्चवार आर्दश उच्च माविको क्वारेन्टाइनमा रहेका सोही गाउँपालिकाका २५ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि भएपछि कोटहीमाई गाउँपालिका १ को पुर्निहवा गाउँ सिल गरिएको रुपन्देही प्रहरीले जनाएको छ ।

अर्को आदेश नभएसम्म सिल गरिएको उक्त गाउँमा आवतजावत गर्न पाइँदैन । उक्त गाउँसहित बाहिरी क्षेत्रमा चारैतिर प्रहरी परिचालन गरिएको छ । गाउँलेलाई खाद्यान्न र आपतकालिन समस्याको समाधानका लागि स्थानीय तह र प्रशासनले समन्वय गर्नेछन् ।

भारतको दिल्लीमा मजदुरी गर्दै आएका संक्रमित युवालाई लकडाउनले समस्या परेपछि बैशाख ५ गते उनी सम्मरीमाई गाउँपालिकाको ठोठरी नाकाबाट लुकेर प्रवेश गरेका थिए ।

प्रवेश गर्ने क्रममा उनका दाइ सीमामा पुगेका थिए । तर, सीमाबाट घर नर्पयाइ स्थानीय क्वारेन्टाइनमा लगेर राखेका थिए । बैशाख १७ गते क्वारेन्टाइनमा रहेका १० जनाको स्वाब संकलन गरी परीक्षण गर्दा ती युवामा संक्रमण पुष्टि भएको हो ।

अहिले ती युवा अस्थायी विशेष कोरोना अस्पतालमा बुटवलमा उपचारत छन् । उनको स्वास्थ्य अवस्थामा समान्य रहेको रहेको चिकित्सक बताउँछन् ।

प्रकाशित मिति : १९ बैशाख २०७७ शुक्रबार ००:००  ६ : २७ बजे