८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

प्रदेश ५ मा पनि देखियो कोरोना, संक्रमित दुई जना रुपन्देही र बाँकेका



मायादेवी अनलाइन, चारनम्बर ।
प्रदेश ५ मा पहिलो पटक कोरोना भाइरसका दुई संक्रमित भेटिएका छन् । देशका विभिन्न प्रदेशमा कोरोना भाइरस देखिदै आएपनि प्रदेश ५ मा हालसम्म एक जनामा पनि कोरोना पुष्टि नभएको अवस्थामा आज मात्रै दुई जनामा कोरोना पुष्टि भएको छ । प्रदेशको रुपन्देही र बाँके जिल्लामा एक एक जना कोरोना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

रुपन्देहीमा संक्रमण देखिएका युवा वैशाख ५ गते भारतको नयाँ दिल्लीबाट फर्किएको खुलेको छ । रुपन्देहीको कोटहीमाई गाउँपालिका १ सिपवाका यी २५ वर्षे युवा वैशाख ५ मा नेपाल फर्किएको पाइएको प्रदेश ५ का सामाजिक विकास मन्त्रालयको स्वास्थ्य शाखा प्रमुख उमाशंकर चौधरीले बताउनुभयो ।

दिल्लीमा मजदुरी गर्ने युवालाई स्वदेश फर्केलगत्तै मझगावामा रहेको जनता मावीको क्वारेन्टाइनमा राखिएको थियो । उहाँको स्वास्थ्य अवस्था सामान्य छ ।

क्वारेन्टाइनमै बसेका बेला उहाको पिसीआर जाँच गरिएको थियो । उहाको शुक्रबार नै भैरहवा स्थित क्षेत्रीय प्रयोगशालमा गरिएको पिसिआर परिक्षणमा कोरोना पुष्टि भएको हो । उहाँको ८ जनाको परिवार भएपनि उहाँले परिवारलाई नभेटेको चौधरीले बताउनुभयो । उहाँ कति जनाको समूहमा आउनुभएको थियो त्यसबारे भने खोजबिन भइरहेको स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोलर केदार शाहले बताउनुभयो ।

अहिले उहाँलाई बुटवलको रामनगरमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा राखिएको छ । उहाँको प्रारम्भिक स्वास्थ्य चेक गर्ने काम भइरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन राजेन्द्र खनालले बताउनुभयो ।

उता बाँकेको नेपालगन्जमा संक्रमण पुष्टि भएपछि सहरका चार स्थानलाई सिल गरिएको छ । कोरोना पोजिटिभ देखिएका व्यक्ति नेपालगन्ज उपमहानगरपालिकाको डिएसपी रोड महेन्द्र पार्कका ६० वर्षीय पुरुष हुनुहुनछ ।

भारतको सीमा क्षेत्र बहराइचबाट करिब एक महिनाअघि नेपाल फर्किनुभएका उहाँलाई क्वारेन्टाइनमा राखिएको थियो । महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनबाट झन्डै छ सय जना भागेका थिए । यी संक्रमित पनि भाग्नेमध्ये भएको प्रहरी स्रोतले बताएको छ ।

नेपालगञ्जका डिएसपी रोड, वडा न ८ महेन्द्र पार्क, धम्बोजी चोक र एकलैनी क्षेत्र सिल गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले बताउनुभयो । प्रशासनका अनुसार संक्रमित व्यक्ति डिएसपी रोडस्थित घरबाट महेन्द्र पार्कस्थित मस्जिदमा दैनिक अजान दिन आउजाउ गर्दै आएका थिए । जसका कारण उनी थुप्रै व्यक्तिहरुको सम्पर्कमा पुगेको हुनसक्ने भन्दै सिल गरिएको हो । उहाका श्रीमती र छोरा तथा नजिकका छिमेकीहरुको पनि कोरोना जाँच गरिने भएको छ ।

शुक्रबार एकै पटक दुई जनामा कोरोना संक्रमण पुष्टि भएसंगै नेपालमा संक्रमितको संख्या ५९ पुगेको छ । जसमध्ये १६ जना उपचार गरी घर फर्किसकेका छन् भने अरुको उपचार जारी छ ।

प्रकाशित मिति : १९ बैशाख २०७७ शुक्रबार ००:००  ६ : १४ बजे