मायादेवी अनलाइन, तौलिहवा ।
सिमानाको सुरक्षार्थ खटिएका नेपाली पुलिस कुट्ने ५ जना भारतीय नागरिक पक्राउ परेका छन् । लकडाउनको बेला नेपालमा आएर सवारी चलाए पछि नियन्त्रणमा लिन खोज्दा कपिलवस्तुमा कार्यरत दुई प्रहरीलाई भारतीय नागरिकले सिमा कटाएर कुटपिट गरेका थिए ।
जिल्लाको सेमरी गाउँमा जग्गा जमिन रहेका ती भारतीय नागरिक लकडाउनको बेला आफ्नो खेतको गहुँ काटेर सवारी साधन मार्फत भारत लैजादै गर्दा प्रहरीले रोक्न पुगेका थिए ।
उक्त बेला ५ जना भारतीय नागरिकले नेपाली पुलिसलाई सिमा नाकामा लगेर कुटेका थिए । एक साता पहिलेको यो घटनामा संलग्नहरुलाई भारतीय प्रहरीको सहायतामा पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याइएको बताइएको छ ।
पक्राउ पर्नेहरुमा भारत शोहरतगढ थाना खुनुवा चौकीको परसौना गाउँका गोरा मुसलमान, हरिषचन्द्र चौबे, पप्पु मुसलमान, सब्बीर मुसलमान, शाहबुद्दिन मुसलमानलाई भारतीय प्रहरीले नियन्त्रणमा लिए कपिलवस्तु प्रहरीलाई बुझाएको जनाइएको छ ।
प्रहरी स्रोतका अनुसार नेपाल प्रहरीका हवल्दार बशिष्ठ यादव र जवान ईश्वरी ज्ञवालीले सिमा स्तम्भ ५५७ र ५५६ को मध्य क्षेत्रमा गस्ती गर्दै गर्दा यी भारतीय नागरिकबाट दुव्र्यवहार खेपेका थिए ।
भारतीय सिमा सुरक्षा बलको सहयोगमा सुरक्षाकर्मीको उद्धार गरिएको र घटनामा संलग्न ५ जनालाई भारतीय प्रहरीले पक्राउ गरिसकेको कपिलवस्तुका प्रहरी उपरिक्षक दिप शम्सेर जबराले बताउनु भयो ।
नेपाल प्रहरी माथी दुव्र्यबहार भएको घटनापछि कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेल सहितको नेपाली सुरक्षा टोलीले घटनास्थलको निरिक्षण गरी तत्कालै पक्राउ गर्न भारतिय अधिकारीसंग अनुरोध गरेका थिए ।
प्रतिक्रिया