८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

रोल्पा बम विष्फोटः १८ घण्टापछि उठ्यो चार बालबालिकाको शव



दाङ ।
बम विस्फोटमा मत्यु भएका रोल्पाका चार बालबालिकाको शव नेपाली सेनाले १८ घन्टापछि उठाएको छ । दाङको घोराहीस्थित रिपुमर्दन गणबाट गएको नेपाली सेनाको टोलीले ती शवहरु उठाएको हो ।

शुक्रबार दिउँसो बालबालिकाको शव सेनाको टालीले निकालेपछि घटनास्थलमा रहेको एउटा विस्फोट हुन बाँकी रहेको बम पनि डिस्पोज गरिएको रोल्पा प्रहरी प्रमुख चक्रबहादुर गुरुङले जानकारी दिए ।

बालबालिकाको शव मार्टमका लागि दाङ ल्याउन लागिएको छ । प्रहरी प्रमुख गुरुङले शवहरु पोष्टमार्टम गर्नका लागि दाङको घोराहीमा पठाउन लागिएको जानकारी दिए । रोल्पाको होलेरीमा पोष्ट मार्टमको सुविधा नरहेको र लिवाङ लैजानुभन्दा घोराही लैजान सजिलो हुने भएको हुँदा दाङ पठाउने निर्णय भएको गुरुङले बताए ।

बम विस्फोटमा परी त्रिवेणी गाउँपालिका वडा नं ७ निवासी लालबहादुर खत्रीका ५ वर्षीय छोरा विजय खत्री, ११ वर्षीया छोरी विमला खत्री, लक्ष्मण नेपालीका १३ वर्षीय छोरा गौरब नेपाली र ओजबहादुर डाँगीका १४ वर्षीय छोरा नोखिराम डाँगीको घटनास्थलमै मृत्यु भएको थियो ।

बिहीबार बेलुका बाख्रा चराउन गएका बालबालिकाहरुको घर फर्किँदै गर्दा गहुँ बारीमा बम विस्फोटमा परेर मृत्यु भए पनि सो स्थानमा अर्को पनि बम रहेका कारण प्रहरीले शब उठाउन सकेको थिएन । शव भएको ठाउँमा रातभर प्रहरीले सुरक्षा गरेर बसेको थियो ।

इलाका प्रहरी कार्यालय होलेरी, प्रहरी चौकी जुगाँर र प्रहरी चौकी नुवागाउँबाट खटिएको प्रहरी टोलीले रातभर घटनास्थलको सुरक्षा गरेको जिल्ला प्रहरी प्रमुख चित्रबहादुर गुरुङले जानकारी दिए । दाङ, सल्यान, रोल्पा लगाएका जिल्लाहरुमा रातभर पानी परेको थियो । बालबालिका विस्फोटमा परेकै ठाउँ गैरीगाउँको दुम्लाखोलामा ०६२ मा तत्कालीन नेकपा माओवादी र शाही सेनाबीच भिडन्त भएको थियो ।

सो भिडन्तलाई ‘दुम्ला भिडन्त’ भनेर चिनिन्छ । भिडन्तमा घाइते भएका माओवादी सेनाका कम्पनी कमिसार तथा पूर्वराष्ट्रिय सभा सदस्य राजकुमार कुँवरका अनुसार ०६२ को ११ पुसमा बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म भिडन्त भएको थियो ।

प्रहरी घटनाको विषयमा अझै केही बोलेको छैन । उसले अहिले पनि बालबालिकाहरुले त्यो बम खेलाउँदै ल्याएका थिए वा त्यही उनीहरुले छोएपछि विस्फोट भएको हो ? भन्ने बारेमा एकिन भइनसकेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७७ शुक्रबार ००:००  ४ : १८ बजे