मायादेवी अनलाइन, तौलिहवा ।
नेपाल औषधी ब्यवसायी संघ कपिलवस्तुले कपिलवस्तुका संचारकर्मीलाई मास्क, सेनिटाईजर र पन्जा प्रदान गरेको छ । शुक्रवार संघले तौलिहवामा नेपाल पत्रकार महासंघ शाखा कपिलवस्तु मार्फत ६० जना संचारकर्मीलाई सो सामान हस्तान्तरण गरेको हो ।
संघका जिल्ला अध्यक्ष धर्मराज भट्टराईले ६० थान मास्क, ६० थान सेनिटाईजर र २ सय पन्जा महासंघका जिल्ला सभापति डिलाराम भुसाललाई हस्तान्तरण गरेका थिए । संघका अध्यक्ष भट्टराईले कोरोना भाईरसको जोखिमका बावजुत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र संचारकर्मीले अहोरात्र खटेर काम गरिहेको भन्दै सुरक्षित तरिकाले कार्यस्थलमा काम गर्न सहजताका लागि संचारकर्मीलाई सो सामग्री प्रदान गरिएको बताए ।
उनले यस्तो जोखिमका बेला यो सामग्रीले संचारकर्मीलाई फिल्डका काम गर्न सजिलो हुने बिश्वास ब्यक्त गरे ।
पत्रकार महासंघका जिल्ला सभापति भुसालले संचारकर्मीलाई दिइएको यो सामानले पत्रकारहरुलाई फिल्डमा खटेर काम गर्न सहज हुने बताए । पत्रकार महासंघका प्रदेश सदस्य मनोज कुमार श्रीवास्तवले लकडाउनका बेला मारमा परेका बेला संचारकर्मीले पाएको यो सानो सहयोगले केही भए पनि राहत मिलेको बताए । कार्यक्रम संघका अध्यक्ष भट्टराईको अध्यक्षता र संघका महासचिव मनिराम पाण्डेयको संचालनमा भएको थियो ।
प्रतिक्रिया