एजेन्सी ।
कोरोना भाइरसको उच्च मारमा परेको स्पेनको अवस्था सुधार हुँदै गएको छ । त्यहाँ मृत्यु हुनेको संख्या तीन दिनदेखि लगातार घट्दै गएको हो । २० मार्चपछि स्पेनमा कोरोना भाइरसबाट मृत्यु हुने र संक्रमित हुनेको दर अचानक उच्च गतिमा बढेको थियो । पछिल्लो २४ घण्टामा त्यहाँ २ सय ८८ जनाको मृत्यु भएको छ । स्पेनमा अहिलेसम्म २३ हजार १ सय ९० जनाको मृत्यु भएको छ। २ लाख २६ हजार ६ सय मानिस संक्रमित भएकोमा ८५ हजार जनाको उपचार भइरहेको छ भने १ लाख १७ हजार मानिस उपचारपछि निको भएर घर फर्किएका छन् ।
लामो समयको लकडाउनका कारण कोरोनाविरुद्ध जित हासिल गर्न सफल भएपछि स्पेन सरकारले १४ वर्ष मुनीका बालबालिकालाई दैनिक १ घण्टा घर बाहिर गएर खेल्ने अनुमति दिएको छ । यस्तै कोरोनाको केन्द्रविन्दु बनेको युरोपेली देश इटलीमा पनि पछिल्लो २४ घण्टामा मार्च १४ यताकै कम संख्यामा मानिसको मृत्यु भएको छ । त्यहाँ हिजो २ सय ६० जनाको मृत्यु भएको हो । इटलीमा मृत्यु हुनेको संख्या २६ हजार ६ सय ४४ पुगेको छ ।
उता अमेरिकाको न्युयोर्कमा पनि कोरोनाबाट मृत्यु हुनेको संख्या घट्दो क्रममा रहेको छ। त्यहाँका गर्भनर एन्ड्रयु क्यूमोले मृत्युदर घटिरहेको बताएका छन् । अमेरिकामा हिजो ११ सय संक्रमितको मृत्यु भएको छ । त्यहाँ मृतकको संख्या ५५ हजार नाघ्दा संक्रमितको संख्या ९ लाख ८७ हजार पुगेको छ ।
भारतमा हिजो दिनभरमा थप १६ सय जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २८ हजार नजिक पुगेको छ । त्यहाँ ८ सय ८२ जनाको मृत्यु भएको छ । यसैबीच बेलायती प्रधानमन्त्री बोरिस जोनसन कोरोनालाई जितेर आजदेखि काममा फर्किँदै छन् । आज उनले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
त्यस्तै विश्वमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमितको संख्या ३० लाख नजिक पुगेको छ भने २ लाख ६ हजार बढीको मृत्यु भएको छ। वर्ल्डोमिटर्सको तथ्याङ्कअनुसार आइतबारसम्म विश्वमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २९ लाख ९४ हजार ७ सय ३४ पुगेको छ । हालसम्म कोरोना भाइरसका कारण २ लाख ६ हजार ९ सय ९० जनाको मृत्यु भइसकेको छ ।
कोरोना भाइरस संक्रमितमध्ये हालसम्म ८ लाख ७८ हजार ८ सय १६ जना उपचारपछि निको भई घर फर्केका छन् । अहिले विश्वमा १९ लाख ८ हजार ७ सय ५६ जना कोरोना संक्रमित उपचारत छन् । उपचारतमध्ये ५७ हजार ६ सय २ जनाको स्वास्थ्य अवस्था गम्भीर छ भने १८ लाख ५१ हजार १ सय ५४ को अवस्था सामान्य रहेको जनाइएको छ ।
प्रतिक्रिया