मायादेवी अनलाइन, चारनम्बर ।
यो बेला आगलागीको उच्च जोखिम हुने समय हो । गत बर्षहरुमा यो समय अधिकांश बन आगोले उजाड बनाउने गथ्र्यो । चर्को गर्मी, दिनहुँ चल्ने तातो हावाले आगलागी भैहाले पनि नियन्त्रण गर्न नसक्दा हजारौं हेक्टर बन आगोले सखाप पार्ने गथ्र्यो । तर, यो बर्ष मध्ये बैशाख हुँदासम्म कपिलवस्तुका बनहरुमा आगलागीको घटना घट्न पाएको छैन् ।
डिभिजन बन कार्यालय तौलिहवाका अनुसार वाणगंगाको भलवाडमा अवस्थित कोइली चौर सामुदायिक बनको आधा हेक्टर भुभागमा बाहेक कतै आगलागी भएको छैन् । डिभिजन बन कार्यालय तौलिहवा मातहतमा रहेको २४ हजार हेक्टर बन भुभाग आगलागीबाट अहिलेसम्म जोगिएको छ ।
बेला बेला पानी परिरहनु, गर्मी खासै नहुनु, साझेदारी र सामुदायिक बन उपभोक्ता समूहमा बन संरक्षण सम्बन्धि चेतना बृद्धि हुनुले यो बर्ष आगलागीको घटना घट्न नपाएको डिभिजन बन कार्यालय तौलिहवाका प्रमुख ईश्वरी पौडेलले मायादेवी अनलाइनलाई बताउनुभयो । गत बर्ष यही समयमा बनको आधा भूभाग आगलागीले सखाप पारेको थियो भने समग्र बनको आधा भन्दा बढी भूभाग आगलागीको चपेटामा पर्ने गरेको कार्यालय प्रमुख पौडेलले बताउनुभयो । यो बर्ष आगलागीका घटना नहुँदा जैविक विविधतामा असर नपुग्ने उहाँको विश्वास छ ।
बनमा लागेको आगोले हजारौं क्वूफिट काठ दाउरा खरानी हुन्थ्यो भने सयौं बन्यजन्तुको जलेर मृत्यु हुने गथ्र्यो । उत्तिकै मात्रमा बन्यजन्तुको बासस्थान नष्टसंगै बन नजिक रहेका बस्तीसम्म यसको उच्च जोखिममा पर्ने गरेका थिए ।
गत बर्ष यो बेला दैनिक ५०÷६० स्थानमा आगलागीका घटना हुने गरेको पौडेलले सुनाउनुभयो । समग्र बनको ८० प्रतिशत भूभागमा बैज्ञानिक बन व्यवस्थापन लागु भएको र यो बेला दैनिक लाग्ने आगलागीले समस्या पार्ने गरेको उहाँले बताउनुभयो । बैज्ञानिक बन व्यवस्थापन लागु भएको बनमा अनिवार्य आगलागी नियन्त्रण गर्नुपर्ने भएपनि त्यो सोचे अनुसार हुन नसकेको उहाँले बताउनुभयो ।
डिभिजन बन कार्यालयले यो बर्ष बन हेरालु अनिवार्य राख्नुपर्ने, बन समूहहरु सचेत बन्नुपर्ने र स्थानीय मिडियामा आगलागी सम्बन्धि प्रचार प्रसार गर्नुपर्ने गरी सामुदायिक बन र साझेदारी बनलाई निर्देशन दिइएको उहाँले बताउनुभयो ।
विगतको तुलनामा बनमा आर्थिक गतिविधि बढेको र बन हेरालुको संख्या पनि बढेकोले यो बर्ष आगलागीको घटनामा कमी आउनेमा उहाँले विश्वास व्यक्त गर्नुभयो । डिभिजन बन कार्यालय तौलिहवा मातहत रहेका तिलौराकोट साझेदारी बनले गत बर्ष भन्दा २० जना बढी बन हेरालु राखेको छ भने मायादेवी साझेदारी बनले १८ जना थपेको छ ।
सबैभन्दा ठूलो हेक्टरमा रहेको श्रीङ्गीघाट सामुदायिक बनले ६ जना बन हेरालु राखेर बनको रेखदेख गर्दै आएको छ भने अरु बनले दुई जना बढी बन हेरालु राखेका छन् । यी हेरालुले बनमा आगलागी भए नभएको अनुगमन गर्छन भने बनमा हुने चोरी तस्करी नियन्त्रणमा पनि भूमिका खेल्ने गरेका छन् ।
प्रतिक्रिया