८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

बाबुराम लगायतको जाहेरी लिन मानेन प्रहरीले, सांसद् अपहरण प्रकरण के हुन्छ ?



काठमाडौं ।

पूर्व स्वास्थ्य राज्यमन्त्री समेत रहेका समाजवादी पार्टीका सांसद् डा सुरेन्द्र यादवको अपहरण प्रकरणमा किटानी जाहेरी लिन मानेको छैन। डा सुरेन्द्र यादवलाई अपहरण गरिएको भन्दै समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीका नेताहरू प्रहरीमा मुद्दा दर्ता गराउन प्रहरी परिसर टेकु पुगेका थिए। तर प्रहरीले जाहेरी लिन नमानेको र महोत्तरी जान भनेपछि प्रहरी र नेताहरूबीच चर्काचर्की भएको समेत बुझिएको छ।

‘एसपी र डीएसपीले जाहेरी दिने यहाँ हैन महोत्तरी जाऊ भनिरहेका छन्१ जबकि कानुनले नजिकको प्रहरी र यथाशीघ्र समयमा जाहेरी गर्ने भनेको छ। प्रहरी परिसर टेकुमा एसएसपी गायब। अहिले जाहेरी लिन नमानेको अवस्था छ। कानूनभन्दा माथि ओली सरकाररु,’ समाजवादी पार्टीका नेता विश्वदीप पाण्डेले भनेका छन्।

समाजवादी पार्टीका अध्यक्ष, उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई, र नेताहरू राजेन्द्र श्रेष्ठ, हिसिला यमी अशोक राई किटानी जाहेरी दर्ता गराउन प्रहरी परिसर टेकु पुगेका थिए। उनीहरूसँगै राजपाका तर्फबाट राजेन्द्र महतोलगायतका नेता निवेदन लिएर टेकु पुगेका हुन्। समाजवादी पार्टीले पूर्व आइजिपी सर्वेन्द्र खनाल, सांसदहरू किसन श्रेष्ठ र महेशबस्नेत विरुद्ध कारबाहीको माग गर्दै प्रहरीमा उजुरी दिन पुगेका थिए।

पूर्वस्वास्थ्य राज्यमन्त्री डा यादव घरमै रहेको अवस्थामा नेपाल प्रहरीका पूर्व आइजिपी सर्वेन्द्र खनाल, सांसद्हरू बस्नेत र श्रेष्ठसमेतको टोलीले महोत्तरीबाट गाडीमा राखेर प्रधानमन्त्री निवास बालुवाटार पुर्‍याएका थिए।

समाजवादी पार्टी फुटाउन लक्षित गरी आफ्ना पार्टीका सांसद् अपहरण गर्नेविरुद्ध कारबाहीको माग गर्दै दुवै पार्टीका नेताहरूले उजुरी दर्ता गराउने तयारी गरेका थिए। तर प्रहरीले सो किटानी जाहेरीसहितको उजुरी दर्ता गराउन नमानेपछि चर्काचर्की भएको बुझिएको छ।

प्रकाशित मिति : १४ बैशाख २०७७ आइतबार ००:००  ४ : ३० बजे