दाङ ।
दाङको घोराहीमास्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीसीआरमार्फत कोरोना परीक्षण सुरु भएको छ ।
प्रतिष्ठानकी उपकुलपति डा। संगीता भण्डारीले शुक्रबारदेखि पीसीआर विधिबाट कोरोनाको परीक्षण सुरु भएको जानकारी दिइन् । अहिलेसम्म प्रतिष्ठानको आइसोलेसनमा नौजना छन् । थप एक कैदीको गरी १० जनाको स्वाब परीक्षण भइरहेको भण्डारीको भनाइ छ ।
बेलझुन्डीस्थित कोरोना विशेष अस्पलात भने पछिल्लो समय एकजना पनि छैनन् । प्रतिष्ठानमा अब एकैपटकमा पीसीआरमार्फत ९६ जनासम्मको परीक्षण गर्न सम्भव हुने उपकुलपति भण्डारीले जानकारी दिएकी छन् ।
जिल्लामै पीसीआर विधिमार्फत कोरोना परीक्षण सुरु भएपछि अब स्वाब परीक्षणका लागि भैरहवा वा काठमाडौं लैजानुपर्ने समस्याको अन्त्य भएको छ । प्रदेश ५ को भैरहवा, नेपालगन्ज र दाङमा प्रयोगशाला स्थापना गर्ने निर्णय भएअनुसार घोराहीस्थित प्रतिष्ठानमा पीसीआर मेसिन जडान गरिएको हो । हालसम्म दाङबाट काठमाडौं र भैरहवा लगेर ७१ जनाको स्वाब परीक्षण भएकामा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।
जिल्लाका राप्ती प्रादेशिक अस्पतालसहित विभिन्न अस्पतालमा गरि एक सय ६६ शय्याको आइसोलेसन छ । २ सय ८८ क्वारेन्टाइनको शय्या निर्माण गरिएका छन् । बेलझुन्डीमा कोरोना विशेष अस्पतालमा सबैभन्दा धेरै एक सय शय्या क्षमताको आइसोलेसन सञ्चालन गरिएको छ । अहिलेसम्म जिल्लामा एकसय आरडीटी किट उपलब्ध छन् । आरडीटीमार्फत क्वारेन्टाइनमा परीक्षण गर्ने काम हुँदै आएको छ ।
प्रतिक्रिया