८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

भियतनामः जहाँ कोरोनाबाट एकजनाको पनि मृत्यु भएन, कसरी सम्भव भयो ?



बीबीसी ।
विश्वभर कोरोना भाइरसको महामारी छ । तर एउटा यस्तो देश जहाँ तीन महिना अवधिमा भाइरसको केही संकेत मात्र देखिएको छ । यो देश हो भियतनाम । यसको सिमाना चीनसँग जोडिएको छ, जहाँ कोरोना भाइरस महामारी सुरु भएको थियो ।

भियतनामको जनसंख्या झन्डै १० करोड छ। अप्रिल २३ सम्म भियतनाममा २६८ जनालाई कोरोना भाइरस संक्रमण भएको छ। तीमध्ये २२५ जनालाई निको भइसकेको छ ।

फेब्रुअरी तेस्रो सातासम्म भियतनामा १६ जना संक्रमित भएका थिए । त्यतिखेरै सरकारले सबै बिरामी निको भएको भन्दै कोरोनामुक्तिको घोषणा गरेको थियो । तर बिस्तारै त्यहाँ कोरोना संक्रमणका बिरामी देखा पर्न थालेपछि सरकार सजग भएर रोकथाममा जुट्यो ।

सुरुमा कोरोना भाइरससँग लड्न भियतनाम सरकारले नागरिकलाई सचेत गरायो । साथै संक्रमण जोखिम न्यूनीकरणका लागि युद्धस्तरमा तयारी थाल्यो । अहिले धेरै ठाउँमा लगाइएका प्रतिबन्ध हटाइसकिएका छन् । सरकारले शिक्षण संस्थालाई पठपाठन थाल्न अनुमति दिइसकेको छ। जिज्ञासा उत्पन्न हुन्छ, भियतनामले कोरोना भाइरस संक्रमणको जोखिमबाट आफूलाई कसरी मुक्त गर्न सफल भयो त ?

सबै सीमा बन्द

भियतनाममा जनवरी अन्त्यतिर पहिलोपटक कोरोना संक्रमित भेटिएका थिए । सरकारले तत्काल चीन, लाओस र क्याम्बोडियासँग जोडिएको सबै सीमा नाका बन्द गर्ने निर्णय लियो । हवाईमार्गबाट स्वदेश आएका नागरिकको विमानस्थलमै थर्मल स्क्रिनिङ लिन थाल्यो । विदेशबाट आएका सबैलाई अनिवार्य रुपमा १४ दिनसम्म क्वारेन्टाइनमा राख्न आदेश दियो ।

विदेशबाट आएका व्यक्तिलाई राख्न होटललाई क्वारेन्टाइन बनाइयो । त्यसमा लागेको खर्च सरकारले आफैंले तिर्ने व्यवस्था गर्यो । मार्च अन्तिम सातामा आइपुग्दा भियतनामले विदेशीलाई प्रवेशमा प्रतिबन्ध नै लगायो ।

यति मात्र होइन, भियतामी मूलका विदेशी र भियतनामी नागरिकका परिवारका सदस्यलाई पनि प्रवेशमा रोक लगायो ।

कन्ट्याक्ट ट्रेसिङमा जोड

कोरोना भाइरस संक्रमित व्यक्तिलाई आइसोलेसनमा राखियो । संक्रमितका सम्पर्कमा रहेका व्यक्तिलाई छिटोभन्दा छिटो पत्ता लगाएर परीक्षण गरियो ।

यति मात्र हैन, भियतनामले आफ्नै देशमा सस्तो मूल्यमा परीक्षण किट उत्पादन गर्न सुरु गर्यो। भियतनाममा बढीभन्दा बढी व्यक्तिलाई परीक्षण गर्न पर्याप्त उपकरण छैनन् । तर सरकारले कम खर्च हुने विधि अनपनायो र संक्रमित र उसका नजिकका व्यक्तिलाई छिटोभन्दा छिटो ट्य्राक गर्न सफल भयो ।

व्यापक जनचेतना

भियतनाम सरकारले कोरोना भाइरस संक्रमणबाट जोगिन देशव्यापी रुपमा अभियान चलायो । अभियानमा ससाना भिडियो, पोस्टर आदिका माध्यमबाट कोरोना भाइरसबाट बच्ने तरिका सिकाइयो ।

प्रधानमन्त्री ग्युएन जुआन फुकले नागरिकलाई महामारीका लागि लड्न तयारी अवस्थामा रहन सार्वजनिक रुपमा अपिल गरे ।

लकडाउन असाध्यै थोरै

भियतनाममा कोरोना संक्रमित बिरामीलाई क्वारेन्टाइनमा राख्न सफल छ । प्रभावित स्थानीय प्रशासन र सशक्त सुरक्षा व्यवस्थाका कारण भियतनामले देशका केही ठाउँ क्वारेन्टाइनमा राख्न सफल भएको छ। तर भियतनामले अन्य मुलुकमा जसरी लकडाउन लागू गरेको छैन ।

राजधानी हनोई र अन्य दर्जनौं ठूला सहरमा लागू गरिएको लकडाउन थोरै समयमै हटाइसकिएको छ । त्यहाँको तीन जिल्ला भने अहिलेसम्म पूरै लकडाउनमा छ ।

कतिपयले के आशंका गरेका छन् भने अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्न जानुपर्ने डरले कतिपय मानिस अझै सम्पर्कमा नआएका हुन सक्छन् ।

किनकि त्यहाँ एउटा मात्र पार्टीको शासन व्यवस्था छ । कम्युनिस्ट मुलुक भएकाले कतै व्यक्तिको स्वतन्त्रतामाथि हस्तक्षेप भएन भनेर जिज्ञासा राख्ने पनि छन् । अधिकारीहरुले संक्रमण हुन नदिन कयौं स्थानमा नागरिक स्वतन्त्रतामाथि रोक पनि लगाउनुपरेको बताएका छन् ।

अस्ट्रेलियाको न्यु साउथ वेल्स विश्वविद्यालयका प्राध्यापक कार्ल थयारका अनुसार भियतनामको समाज जागरुक छ। त्यहाँ एउटा मात्रै दलको व्यवस्था छ।

उनले भने, ‘पार्टीको शीर्ष तहबाट गर्ने निर्णयलाई प्रहरी र सेनाले कार्यान्वयन गर्छन्। उच्च सरकारी अधिकारीहरुले यस्तो चुनौतीका बेला गम्भीर निर्णय लिइहाल्छन्।’ बीबीसीबाट

प्रकाशित मिति : १४ बैशाख २०७७ आइतबार ००:००  ७ : ४९ बजे