मायादेवी अनलाइन, तौलिहवा ।
देशमा जारी रहेको लकडाउनको पालना गर्दै कपिलवस्तुका मुस्लिम समुदायले घरमै नवाज अदा गरेका छन् । शनिवारदेखि रमजान महिना शुरु भएको छ । कठिन ब्रतका रुपमा मानिएको रमजानमा एक महिनासम्म रोजा बस्ने र त्यस अवधिमा मस्जिदमा गई पाँच टाइम नवाज पाठ गर्ने चलन रहेको मुस्लिम अगुवाहरु बताउँछन् ।
कपिलवस्तुको तौलिहवाका मुस्लिम अगुवा अब्दुल रउफ खाँले कोरोना भाइरसका कारण मुलुक कठिन अवस्थामा रहेको र फैलन सक्ने उच्च जोखिम रहेकाले सरकारले जारी गरेका लकडाउन पालना गर्दै आफुहरुले यसपालीको रमजान महिनामा घरमै नवाज पढको बताए । ‘अहिले बिश्व नै कोरोनाले आक्रान्त छ, यस्तो कठिन समयमा हामीले यस बर्षको रमजान महिनामा घर मै नवाज पढ्ने निर्णय गरेका छौ’ उनले भने ।
उनले मावनता भन्दा अरु कुनै ठुलो धर्म नहुने भन्दै अल्लाहले यो कारोना भाइरसको चाँडै अन्त्य गरुन भन्ने कामना सहीत आफुले घर मै नवाज पढेको उनले बताए । कृष्णनगरका मुस्लिम अगुवा महसुद खाँ नेपालीले बर्षको एक महिना रमजान मुस्लिम समुदायका लागि अति नै पबित्र महिना भए पनि अहिलेको कठिन समयमा आफुहरुले घर मै नवाज पाठ गरेको बताए । ‘हामीले घर मै नवाज पढ्न आग्रह गरेका छौ’ उनले भने ‘अल्लाहले मानव जातिकै लागि टाउको दुखाई बनेको कोरोना भाइरसबाट चाडै मुक्ति, दिन्छ’ उनले भने ।
यस अघि जिल्ला प्रशासन कार्यालय मुस्लिम आयोगले समेत घरमै नवाज पढ्न अपील जारी गरेको छ । अरबी पात्रो अनुसार एक महिनासम्म उपवास बसेपछि महिनाको अन्तमा चन्द्रमाको दर्शन गरेपछि रमजान पर्व सम्पन्न हुन्छ र भोलिपल्ट इद पर्व मनाउने परम्परा छ । उक्त दिन राति देखिने चन्द्रमालाई इदका चाँद भन्ने गरिन्छ । एक महिना पुरा भएपनि चन्द्रमाको दर्शन नगरेसम्म पर्व जारी रहने नियम छ ।
एक महिनासम्म चल्ने रोजामा मुस्लिम धर्मालम्बी बिहान सबेरै उठेर सुर्यास्त नभएसम्म व्रत बस्ने गर्छन् । यसरी व्रत बस्ने प्रचलनलाई रोजा भन्ने गरिन्छ । रोगी, अशक्त र बालबालिका बाहेक सात बर्षदेखिका सबै ब्यक्ति अनिवार्य रोजा (उपवास) बस्ने गरेको कृष्णनगरका हाजी मिर्जा अरशद बेगले बताए । इस्लामी पात्रो हिजरी संवतको नवौं रमजान मुबारक महिनामा रोजा बस्ने गरिन्छ । रोजा कठिन ब्रत भएकोले शरीरलाई चोखो राखी अल्लाहसँग प्रार्थना गर्नुपर्छ ।
रोजा सुरु गर्नुअघि बिहानै आफूलाई इच्छा लागेको खानेकुरा खाइन्छ, त्यसलाई ‘सेहेरी’ भनिन्छ । मुस्लिम धर्मालम्बीले यस पर्वभरी कम बोल्ने, झुटो नबोल्ने, अर्कासँग इष्र्या नगर्ने, लोभ नगर्ने, अरुको हानि नपुर्याउने, कुरान पढ्ने गर्छन । रमजान महिनालाई तीन भागमा विभाजन गरिएको छ । पर्वको तेस्रो भागलाई महत्वपूर्ण स्थान दिइएको छ ।
पर्वको तेस्रो भाग अर्थात १० दिनसम्म समाजका कुनै एक व्यक्ति नजिकको मस्जिदमा लगातार १० दिनसम्म बस्छन । मस्जिदबाट बाहिर नित्य कर्मबाहेक बाहिर निस्कन पाउँदैनन । समाजमा आउन सक्ने कुनै विपत्तिलाई समाप्त पार्न धार्मिक एवम् मानवताको उद्देश्य साथ मस्जिदमा वास गर्ने गरिएको हो ।
यस अवसरमा समाजका गरिब मुसलमानलाई दान पनि दिइन्छ, जसलाई फित्र भनिन्छ । आफ्नो परिवारको सदस्यको गच्छ अनुसार घरका मूलीले प्रति व्यक्ति २ किलो ४५ ग्राम गहुँ वा सो बराबरको नगद वा अन्य सामान गरिब मुसलमानलाई दान गर्नुपर्ने नियम रहेको अन्सारीले बताउनुभयो ।
इस्लाम धर्मको मुख्य पाँच स्तम्भमा हज, जकात, नमाज, कुरबानी र रमजान पर्छ । पाँच स्तम्भमध्ये एक रमजान पनि भएको विश्वास गरिएकाले धार्मिक नियम निष्ठाका साथ यो पर्व मनाउने गरिन्छ । यो महिनामा धर्मालम्बीले दिनको पाँच पटक नमाज पढ्छन । विभिन्न समयमा पढ्ने नवाजको आ–आफ्नै महत्व छ । यस पर्वमा रोजा अर्थात उपवासमा १२ वर्षमुनिका बालबालिका, अशक्त र गर्भवती महिलालाई उपवासमा बस्नु नपर्ने नियम छ । कपिलवस्तु रौतहट पछि दाश्रो मुस्लिम बाहुल्यता भएको जिल्ला हो ।
प्रतिक्रिया