भैरहवा ।
नेपाल र भारत दुवैतर्फ लकडाउन गरिएपछि एक अर्का देशमा फसेका ३ सय ५० जना नागरिक शनिबार सुनौली नाकाबाट आ–आफ्नो मुलुक प्रवेश गरेका छन् । शुक्रबार साँझ भारततर्फ रहेका सय नेपालीलाई नेपाल ल्याइएको थियो ।
भारतका विभिन्न स्थानमा काम गरी घर फर्केका नेपालीलाई गत चैत १८ गते लकडाउन र सिमाना सिल भएपछि सुनौली नाकाको दसगजा सिमानाबाट नौतनवाको क्वारेन्टाइनमा राख्ने गरी फर्काइएको थियो । नेपालमा रोकिएका भारतीयलाई सिमानादेखि करिब डेढ किमि वर डन्डापुल नजिकैको निमा प्रतिमान अध्ययन प्रतिष्ठानमा नेपालको क्वारेन्टाइनमा राखिएको थियो ।
रुपन्देहीका डिएसपी खड्कबहादुर खत्रीले सुनौली नाकाको सिमावर्ती दुवै देशका क्वारेन्टाइनमा राखिएका नेपाली र भारतीय नागरिक सबै शनिबार आआफ्नो मुलुकतर्फ लागेको बताए । खत्रीका अनुसार, भारतको नौतनवास्थित क्वारेन्टाइनमा रहेका २ सय ९६ जना नेपालीमध्ये शुक्रबार साँझ सय जना, आजबिहान १ सय १२ र दिउँसो ८४ जनालाई नेपाल ल्याइएको हो ।
नेपाल ल्याइएकामध्ये सबैभन्दा धेरै अर्घाखाँचीका छन् । उनीहरु सबैलाई नेपालको सिमानामै आरडीटीपछि सम्बन्धित जिल्लाको पालिकास्थित १४ दिनको क्वारेन्टाइनमा बस्ने गरी नेपाल ल्याइएको हो। अर्घाखाँचीबाहेक धेरैजना गुल्मी धुर्कोट गाउँपालिकाका छन् ।
अर्घाखाँचीको मालारानी गाउँपालिकाका अध्यक्ष बालकृष्ण आचार्य शनिबार पनि ३ बस लिएर जिल्लावासी लिन सिमानामा आइपुगेका छन् । शुक्रबार साँझमात्रै उनले आफ्नो गाउँपालिकाका ३४ जनालाई लिएर गएका थिए ।
भारतीय नागरिकलाई लिन पनि सिमावर्ती भारत महाराजगन्ज जिल्लाका विभिन्न जनप्रतिनिधि र प्रशासक सिमानासम्म आइपुगेका थिए । उनीहरुलाई पहिला नेपाली राखिएको नौतनवास्थित क्वारेन्टाइनमा पुन १४ दिन राख्ने भारतीय पक्षले जनाएको छ ।
प्रतिक्रिया