८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

कोरोना भाइरसः देशभर क्वारेनटाइनमा बस्ने प्रदेश नं ५ मा सबैभन्दा बढी



काठमाडौं ।
अहिलेसम्म देशभरि आरडीटी विधिबाट झन्डै ४०,००० वटा परीक्षण गरिएको सरकारको भनाइ छ ।
विगत २४ घण्टामा १,९४५ जनामा कोरोनाभाइरस परीक्षण गरिएको तर शुक्रवार साँझपछि कसैमा पनि कोभिड-१९ पुष्टि नभएको जानकारी स्वास्थ्य मन्त्रालयले शनिवार अपराह्ण दिएको छ ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार अहिलेसम्म सङ्क्रमितको सङ्ख्या ४९ छ । तीमध्ये १२ जना रोगमुक्त भएका छन् ।

नियमित प्रेस ब्रीफिङमा बोल्दै उनले बागलुङमा भर्ना भएकी १९ वर्षीया किशोरी भाइरसमुक्त भएको प्रमाणित भएपछि शुक्रवार घर फिर्ता भएको जानकारी दिए ।

चितवनमा भएका २७ वर्षीय सङ्क्रमित पुरुष पनि पीसीआर परीक्षणमा दुई चोटि भाइरसमुक्त भएकाले अस्पतालबाट घर फिर्ता हुने क्रममा छन् ।

उनका अनुसार अहिले विभिन्न स्थानमा भएका ३७ बिरामीको स्वास्थ्य सामान्य छ । अहिलेसम्म पीसीआर विधिबाट ९,६६६ वटा र आरडीटी विधिबाट झन्डै ४०,००० परीक्षण गरिएको विवरण मन्त्रालयले दिएको छ ।

को कहाँ छन् ?
देशभरि १४,७३१ जना क्वारेनटाइनमा रहेकोमा प्रदेश नं ५ मा भएका व्यक्तिको सङ्ख्या सर्वाधिक भएको जानकारी डा. देवकोटाले दिए । उनका अनुसार त्यहाँ ७,९५६ मानिस क्वारेनटाइनमा छन् ।

सबैभन्दा कम वाग्मती प्रदेशमा १३१ जना छन् । अहिले कोशी अञ्चल अस्पतालमा ३० जना सङ्क्रमित छन् । उनीहरूमध्ये अधिकांश उदयपुरका हुन् ।

झापा र भोजपुरका सङ्क्रमित व्यक्ति पनि त्यहीँ छन् ।

मन्त्रालयका अनुसार अहिले काठमाण्डू उपत्यकामा तीनसहित देशभरि ८७ जनालाई आईसोलेशन अर्थात् चिकित्सकीय निगरानीमा अलग्गै राखिएको छ भने लक्षण र अन्य विवरणका आधारमा २९० जना ‘रेड जोन’ मा परेका छन्।

क्वारेनटाइनमा भएका केही व्यक्तिमा औलो रोग देखिएको भन्दै डा. देवकोटाले सबैलाई सतर्क हुन आग्रह गरे ।

बीबीसी नेपाली सेवाबाट

प्रकाशित मिति : १३ बैशाख २०७७ शनिबार ००:००  ५ : १२ बजे