८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

सुनौली नाकामा अलपत्र परेका १ सय १ जनालाई स्वदेश फर्काइयो



रुपन्देही ।
नेपाल–भारत सीमा दसगजामा धर्ना बसेका नेपालीलाई स्वदेश फर्काइएको छ । तीन दिन देखि रुपन्देहीको सुनौली नाकामा धर्ना बसेका मध्ये केहीलाई स्वदेश फर्काइएको हो ।

२५ दिन क्वारेन्टाइन बसेका उनीहरु त्यहाँबाट निस्किएर तीन देखि देखि दसगजामा आएर धर्ना गरी बसेका थिए । धर्ना बसेका मध्ये नेपालका विभिन्न स्थानका १०१ जनालाई शुक्रबार स्वदेश फर्काइएको हो । नौतनवाबाट भारतीय बसमा दसगजासम्म आएर नेपाल प्रवेश गरेका उनीहरुलाई सम्बन्धित जिल्लाले बस व्यवस्थापन गरेर जिल्ला पठाउने तयारी गरेको छ ।

स्वदेश आउन पाएपछि अर्घाखाँची मालारानीका बुद्धबहादुर केसी पनि निकै खुसी देखिन्थे । उनले भने, ‘जीवनमा पहिलोपटक सरकारको प्रमुख नै हामीलाई लिन आउनुभएको छ । यो भन्दा हामीलाई के चाहियो ।’ उनी २२ वर्षदेखि गाजियाबादमा जागिर गर्दै आएका थिए ।

उनीसहित मालारानीका बासिन्दालाई लिन शुक्रबार सीमामै गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्य आएका थिए ।

भारतको विभिन्न ठाउँबाट एक हप्तासम्मको यात्रा गरेर आएका २ सय ९८ जना नेपालीहरु तीन दिनसम्म दसगजामा बसेका थिए । तर, नेपाल प्रवेश गर्न नपाएपछि उनीहरु चैत १३ गते नौतवना क्वारेन्टाइनमा गएर बसेका थिए । क्वारेन्टाइनमा राखिएका मध्ये एक जना दस दिने सुत्केरीसहित ८ जनालाई भने त्यतिबेला नै नेपाल ल्याइएको थियो ।

भारतको दिल्ली, गाजियाबाद, पुणे, बनारस, गोरखपुर, चण्ढीगढ, पन्जाब, कानपुर, राजस्थान, कलकत्तालगायत ठाउँमा काम गर्ने नेपालीहरु भारतमा लकडाउन भएपछि पैदल हिँड्दै आउँदा एक ठाउँको प्रहरीले अर्को ठाउँसम्म गर्दै सुनौलीसम्म ल्याइदिएको थियो ।

शुक्रबार उनीहरुलाई प्रदेश सभा सदस्य सन्तोष पाण्डे, सिद्धार्थनगरका प्रमुख हरिप्रसाद अधिकारी, अर्घाखाँची मालारानी गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्य लगायतले दसगजामा स्वागत गरेका थिए ।

नौतनवाको तीन वटा क्वारेन्टाइनमा राखिएका नेपालीमध्ये नौतनवा इन्टर कलेजका नेपाल आएका हुन् । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थका अनुसार शुक्रबार र शनिबार गरेर २ सय ९८ जनाले नेपाल प्रवेश पाउने अनुमति पाएका छन् । शुक्रबार आउनेहरु पहिलो चरणमा क्वारेन्टाइन बसेका हुन् । बाँकी केहि दिनमै आउने पनि पन्थले बताए ।

शुक्रबार नेपाल प्रवेश गरेका मध्ये अर्घाखाँचीका ४२ जना, गुल्मीका ३० जना, पाल्पाका ५ जना, रुपन्देहीका ५ जना, तनहुँका ७ जना, कपिलवस्तुका २ जना, धादिङका २ जना, बाग्लुङका ४ जना, स्यांग्जाका एकजना, जाजरकोटका एकजना, खोटाङका एकजना, मोरङका एकजना छन् । उनीहरुलाई सम्बन्धित गाउँपालिकामा पठाइनेछ र गाउँपालिकाले उनीहरुलाई क्वारेन्टाइनमा राख्नेछ ।

प्रकाशित मिति : १३ बैशाख २०७७ शनिबार ००:००  ६ : १८ बजे