८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

गजेहडा बलात्कार घटना अपडेटः आरोपितलाई अदालतबाट म्याद थप गराई अनुसन्धान सुरु



मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुमा चार नाबालिकालाई बलात्कार गरेको आरोप लागेका दुई व्यक्तिलाई अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ ।

इलाका प्रहरी कार्यालय पिपराका अनुसार वाणगंगा–४ गजेहडाका ती व्यक्तिलाई जिल्ला अदालत कपिलवस्तुबाट १० दिनको म्याद थप गराई अनुसन्धान सुरु गरिएको हो ।

जिल्लाको वाणगंगा नगरपालिका वडा नं. ४ गजेहडाका ४७ बर्षीय तिलकराम गुप्ता र १७ बर्षीय मुस्कान शर्मालाई चार नाबालिकालाई बलात्कार गरेको आरोप लागेको छ । गुप्तामाथि दुई नाबालिकामाथि बलात्कार गरेको आरोप छ भने शर्मामाथि चार जनालाई नै बलात्कार गरेको आरोप छ ।

दुई व्यक्तिको घटना एकै पटक बाहिरिएपनि घटना छुट्टै–छुट्टै समयमा भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । पीडित मध्येकी एक जना आमाले छोरीमाथि बलात्कार गर्ने दुवैजना माथि प्रहरीसामु किटानी जाहेरी दिएको बताउनुभयो ।

अर्का दुई नाबालिकाका अभिभावकले भने शुक्रबार मात्र जाहेरी दिने तयारी गरेका छन् । विहीबार विशेष कारणले किटानी जाहेरी दिन नसकेको भन्दै शुक्रबार उनीहरुले दिने तयारी गरेका छन् ।

चार नाबालिका माथि बलात्कारको आरोप लागेपनि एक नाबालिकाका अभिभावकले भने उजुरी नदिने भएका छन् । यी नाबालिकालाई किशोर शर्माले ५ बर्ष पहिला बलात्कार गरेको आरोप थियो । घटना पुरानो भएको र प्रमाण जुट्न गाह्रो हुने भएकाले किटानी जाहेरी नदिने परिवार स्रोतले जनाएको छ ।

बलात्कारको यो घटना पनि हालसालै नभएको पाइएको छ । पीडितका अनुसार दशै, तिहारको समयमा बलात्कार गरेको भएपनि अहिले मात्र आएर यो कुरा बाहिर आएको हो । कोरोना भाइरसको कारण मुलुक लकडाउनको अवस्थामा छ । यो बेला घरपरिवार एक ठाउँमा छन् । यही अवसरमा यी नाबालिकाले बलात्कारको कुरा खोल्दै जादा घटना बाहिर सार्वजनिक भएको हो ।
चार जना नाबालिकाले नै यो कुरा बताएपछि पीडितका अभिभावकले बुधबार प्रहरीलाई जानकारी गराए लगत्तै पीडकहरु प्रहरीको नियन्त्रणमा आएका थिए ।

४७ बर्षीय गुप्तामाथि दुई किशोरीलाई करणी गरेको र एक जनालाई यौन शोषण गरेको आरोप छ भने १७ बर्षीय किशोरलाई चारै जनामाथि बलात्कार गरेको आरोप छ ।

यता पीडकको अभिभावकले आफुहरुलाई फसाउन गम्भीर आरोप लगाइएको दाबी गरेका छन् । पुरानो घटनालाई अहिले आएर बाहिर निकालेको र यसमा कुनै सत्यता नभएको उनीहरुको दाबी छ ।

यता इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक आयुष कुमार जोशीले घटनाको बारेमा अनुसन्धान थालिएको बताउनुभयो । पीडित सबैको मेडिकल परिक्षण भएको र यसको रिर्पोट आई नसकेको भन्दै घटनाको सत्यतथ्य चाडै बाहिर आउने उहाँले बताउनुभयो ।

प्रकाशित मिति : ११ बैशाख २०७७ बिहिबार ००:००  ७ : ४४ बजे