८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

काठमाडौंमा अलपत्र परेका ४ सय १ जनालाई अर्घाखाँची ल्याईयो, थपियो कोरोना संक्रमणको चिन्ता !



बिष्णु कुमार आले, अर्घाखाँची ।
घर जान नपाएर काठमाडौंमा अलपत्र परेका अर्घाखाँची, गुल्मी र प्यूठानका ४ सय १ जना नागरिकलाई अर्घाखाँची ल्याईएको छ । जसमा अर्घाखाँचीका ३ सय ७५ जना, गुल्मीका २३ जना र प्यूठानका ३ जना रहेका छन् ।

काठमाडौंमा व्यापार व्यवसाय गर्दै आएका युवाहरु र पूर्व उपप्रधानमन्त्री एवं प्रतिनिधी सभा सदस्य टोप बहादुर रायमाझीको पहलमा ११ ओटा बस, एउटा हाईस र दुई बलेरो गाडीमा काठमाडौंमा अलपत्र परेका नागरिकलाई जिल्ला पुराईएको हो ।

केन्द्रीय सरकारले जो जहाँ छ, त्यहिको सरकारले खान बस्नको व्यवस्थापन गर्ने तर जिल्ला जिल्ला नागरिकलाई नपठाउने भनिरहेका मेला जनप्रतिनिधीले भने आ–आफ्ना नागरिकलाई गाडि चढाएरै जिल्ला जिल्लामा पठाउने गरिरहेका छन् । यसले असुरक्षित भएर गाउँटोलमा पनि कोरोना संक्रमितको उच्च जोखिम हुने धेरैको चिन्ता छ ।

लकडाउनका कारण काठमाडौंमा कष्टकर जीवन बिताउँदै आएका अर्घाखाँचीका नागरिकलाई उद्धार गरी अर्घाखाँची पुर्याइएको हो । गोरुसिङ्गे ठाडा हुँदै (१) बा २ ख ७१७७ (२) बा ३ ख ३१४३ (३) बा ५ ख ६२४० (४) बा ५ ख ६२३७ (५) बा ५ ख ५०८४ (६) बा ४ ख ७४६१ (७) बा ५ ख ५०८० नम्बरका बस र (८) प्रदेश ३–०१०२३ च ४७३१ नम्बरको डबल क्याप (९) ग १ ज ४१०३ र (१०) बा १३ च ३१३७ नम्बर भएका बलेरो गाडि गोरुसिङ्गे, ठाडा, सितापुर, सुपादेउराली हुँदै सन्धिखर्क पुगेका थिए ।

१० ओटा गाडिमा आएका ३ सय ६ जनाको शीतगंगा १२ डोहोटे हेल्थ डेक्समा चेकजाँच गरी जिल्ला भित्राईएको थियो । गाडीमा यात्रुहरु आउने जानकारी भएपछि नगर प्रमुख सूर्य प्रसाद अधिकारी सहित प्राथमिक स्वास्थ्य केन्द्र ठाडाका स्वास्थ्यकर्मी र ईलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरिक्षक बाबुराम बस्नेतको नेतृत्वमा प्रहरी टोली डोहोटे हेल्थडेक्समा खटिएका थिए ।

जिल्ला प्रशासनको निर्देशन अनुसार इलाका प्रहरी कार्यालय ठाडामा ७ ओटा बसमा आएका यात्रुहरुलाई झारेर प्रहरी सहि सालिकराम खनालको नेतृत्वमा खटेको प्रहरीको टोलीले पालीका छुट्टाएर अलक अलक बसमा बसालेर सदरमुकाम सन्धिखर्क पठाएको थियो । ठाडामा बसमा आएका यात्रुहरु झरेपछी केहि समय सडक तथा होटलहरुमा भिठभाड भएको थियो । त्यसै गरि पाल्पा डाँडाकटेरी हुदै (११) बा ३ ख ६६७३ (१२) बा ३ ख ५००७ (१४) बा ३ ख ३१६२ नम्बरका बसमा आएका ५६ जना यात्रुहरुले डाँडाकटेरी हेल्थडेक्समा चेकजाँच गरेर जिल्ला सदरमुकाम प्रबेश गराईएको थियो ।

यस्तै गुल्मी रिडी हुँदै आएको बा ४ ख ५९५१ नम्बरको बसमा आएका ३९ जना यात्रुहरुले खरज्याङ्ग हेल्थ डेक्समा स्वास्थ्य जाँच गरेपछि जिल्लामा ल्याईएको हो । काठमाडौंबाट अर्घाखाँची आएका १४ ओटा गाडीमा शितगंगा नगरपालिकाका २४ जना, सन्धिखर्क नगरपालिकाका ७२ जना, भुमिकास्थान नगरपालिकाका २६ जना, मालारानी गाँउपालिकाका ७३ जना, छत्रदेव गाँउपालिकाका १ सय १५ जना, पाणिनी गाउँपालिकाका ६५ जना, गुल्मीका २३ जना र प्युठानका ३ जना मंगलबार साँझ काठमाडौंबाट बस चढेर बुधबार दिउसो अर्घाखाँची आएका हुन् ।

काठमाडौंबाट यात्रु बोकेर सदरमुकाम सन्धिखर्क ल्याईएका यात्रुहरुलाई जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले सम्बन्धित स्थानीय तहमा १४ दिन क्वारेनटाइनमा बस्ने गरी जिम्मा लगाएको छ । तर, जिल्लाका ६ ओटा स्थानीय तहहरु मध्ये कुनै स्थानीय तहले क्वारेनटाइनमा राखिसकेको छ भने कुनै स्थानियतहले होम क्वारेन्टाईनमा बस्ने गरि घर पठाईदिएको छ ।

यसरी बाहिरबाट आएका नागरिकलाई स्थानीय तहले खान बस्नको व्यवस्थापन गरी क्वारेनटाइनमा राख्न अनुरोध गरेपनि घरमा पठाउदा कोरोनाको जोखिम बढ्न सक्ने प्रशासनले जनाएको छ ।

जिल्ला प्रशासनले सचेत र होसियार हुन सबैलाई आग्रह गरेको छ । झन्डै एक महिना लामो लकडाउनका कारण काठमाडौंमा खान बस्न समस्या हुन थालेपछि हारगुहार गरी अनुरोध गरेका नागरिकलाई गाडिको व्यवस्था गरी जिल्ला पठाईएको हो । पहिला स्थानीय सरकार तथा सभासदले यात्रुहरुको सम्पुर्ण खर्चको जिम्मा लिने भनिएपनि पछि आएर यात्रु आफै प्रति ब्यक्ति रु. १५ सयका दरले भाडा तिरेर आएको यात्रुहरुले बताएका छन् ।

यस अघि सामान्य भाडा काठमाडौं अर्घाखाँचीको साढे ८ सय देखि बढिमा हजारसम्म तिर्ने गरेका थियौं, तर अहिले आपत परिस्थितीमा प्रति व्यक्ती रु. १५ सयका दरले भाडा तिरेर आएको यात्रु सुनिल भुसालले बताए ।

सरकारले भाडा तिरिदिने भनेर घर जान झोला बोकेर पानी परिरहेको अवस्थामा राती कोठाबाट कलंकी आएर बस चढ्यौं तर बिचमा आएर १५ सयका दरले भाडा माग्दा आफु झसङ्ग भएको यात्रु सचिन पाण्डेले गुनासो गरे । तर समस्यामा परेका यात्रुबाट दोब्बर भाडा असुल्ने काम भएको भन्दै उचित भाडा बाहेक अन्य भाडा फिर्ता नगरे कार्वाही गर्ने पूर्व उपप्रधान मन्त्री टोप बहादुर रायमाझीले बताए ।

नेता रायमाझीले भाडाको हामी व्यवस्था गछौं भन्दा नमानेर यात्रु बोकेर हिड्ने तर बिच बाटोमा मौका छोपेर दोब्बर भाडा उठाउने सवारी साधनलाई कारवाही हुने चेतावनी दिए । समस्या परेको बेला आफ्नो जिल्लामा आउन पाउँदा व्यवस्थापन गर्नेलाई भगवान सम्झदैँ उनीहरु निकै खुसी भएका छन् । अरु अलपत्र परेका नागरिकलाई पनि गाडिको व्यवस्थापन गरेर जिल्ला पठाउने बताईएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७७ बिहिबार ००:००  ५ : १९ बजे